लिमचुङबुङ पाप्रेमा आगोले तामाङको घर नष्ट

१ दिन अघि

२0८२ बैशाख १४ आईतवार
लिमचुङबुङ पाप्रेमा आगोले तामाङको घर नष्ट

बाराहा, वैशाख १४

लिमचुङबुङ गाउँपालिका ३ पाप्रेमा आगलागी हुँदा एक घर जलेर नस्ट भएको छ । शनिबार दिउँसो पाप्रेका बमबहादुर तामाङको घरमा आगलागी हुँदा ढुङ्गा माटोले बनेको सिमेन्टको प्लास्टर गारो र जस्ताको छाना भएको घर ध्वस्त भएको हो । 


आगलागीबाट तामाङको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, कागजात, गरगहना र अन्य जिन्सलगायत सबै सम्पत्ति जलेर नष्ट भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार घरकै विद्युत सर्ट भएर आगलागी भएको हो । स्थानीयले इलाका प्रहरी कार्याल्य लिमचुङबुङ बाराहाबाट गएको टोलीसँग मिलेर साँझ ६ः३० बजे आगो नियन्त्रणमा ल्याएका थिए । 


घट्नास्थलको सर्जमिन मुचुल्का गर्न प्रहरी टोली आईतबार विहान गएको छ । स्थानीयको अनुमान अनुसार लगभग १० लाख क्षति भएको आँकलन गरिए पनि यकिन क्षति भने प्रहरी सर्जमिनले गर्ने जनाइएको छ । 


लिमचुङबुङमा आगलागीको घट्ना यो दोस्रो हो । यसअघि वडा नं. ४ को बलम्ता छाताङमा डढेलोबाट उम्केको आगो बस्ती पसेर आगलागी हुँदा एक घर, २ गोठ जलेर आधादर्जन खसी बाख्रा, ३ वटा सुङगुर क्षति भएको थियो ।