७७७ चोकबाट भरुवा बन्दुकसहित एक पक्राउ 

२ दिन अघि

२0८२ बैशाख १२ शुक्रबार
७७७ चोकबाट भरुवा बन्दुकसहित एक पक्राउ 

उदयपुर, वैशाख १२

उदयपुरको ७७७ चोकबाट एक युवा २ नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन् । मदन मण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको रौतामाई ७ स्थित चोकबाट सवारी चेकजाँचको क्रममा बन्दुकसहित उदयपुरगढी ७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । 


दरमुकाम गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ३३८४ नं. को मोटरसाईकलमा चेकजाँच गर्दा लुकाईछिपाई लादै गरेको अवस्थामा १ नाल तयारी लोड अवस्थाको र अर्को पूर्णरुपमा तयार नभएको बट र नाल छुट्टाछुट्टै अवस्थामा २ नाल बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


अस्थायी प्रहरी पोष्टले नियन्त्रणमा लिएको मगर र बन्दुक जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएर अनुसन्धान थालिएको छ । उनीमाथि अवैध हतियार सम्बन्धी ऐन् अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताएका छन् । 


३ वटा स्थानीयतहको सीमानाका रहेको ७७७ चोकलाई सङ्गमचोक पनि भन्ने गरिएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत पूर्वतर्फ त्रियुगा नगरपालिका ७, उत्तरतर्फ रौतामाई गाउँपालिका ७ र पश्चिमतर्फ उदयपुरगढी गाउँपालिका ७ पर्ने त्रिबेणीस्थल भएकैले ७७७ चोक भनिएको हो । रौतामाईको प्रमुख व्यापारिक केन्द्र मुर्कुची बजारनजिकै रहेको सो ठाउँ पहाडी गाउँपालिका लिमचुङबुङ जाने नाका पनि हो ।