खोटाङमा बाढी पहिरो क्षति मर्मत गर्न प्रदेश सरकारको साढे ४ करोड 

३ दिन अघि

२0८२ बैशाख ११ बिहीबार
खोटाङमा बाढी पहिरो क्षति मर्मत गर्न प्रदेश सरकारको साढे ४ करोड 

खोटाङ, वैशाख ११

घट्ना भएको झण्डै ७ महिनापछि खोटाङको बाढी पहिरो क्षति मर्मत गर्न प्रदेश सरकारले रकम उपलब्ध गराएको छ । गएको वर्षायामताका असोज १२ गते रातिसम्म जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेका सडक, भवनलगायत भौतिक पूर्वाधारको मर्मत संभारार्थ प्रदेश सरकारले साढे ४ करोड बढी बजेट पठाएको हो । 


जिल्लाबाट निर्वाचित भई प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई र सामाजिक विकासमन्त्री पाँचकर्ण राईले आफ्नो जिल्लाको क्षति मर्मत गर्न ५६ लाख ५५ हजार रुपैँया बजेट निकासा गराएका हुन् । बाढी पहिरोले क्षति गरेको सडक, भवनलगायत भौतिक संरचना पुननिर्माण र मर्मत गर्न ‘बाढी पहिरोले क्षति गरेको भौतिक संरचना मर्मतसंभार तथा पुननिर्माण कोष’को सिफारिसमा सो बजेट निकासा भएको हो । 


खोटाङका २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीयतहमा बाढी पहिरोले धेरै संरचना क्षति गरेको छ । गाईघाट दिक्तेल सडक अन्तर्गत फोक्सिन्टारस्थित भत्केको पक्की पुलदेखि सामुदायिक विद्यालय भवन, दर्जनौँ ग्रामीण सडक, झोलुङ्गे पुल, खानेपानी र सिँचाई संरचनाको पुननिर्माण गर्न बजेट आएको छ । ७ महिनाअघि क्षति पुननिर्माण कार्य चालु वर्षभित्रै सम्पन्न गर्नेगरी बजेट आएको हो । 


पुननिर्माण बजेट भौतिक पूर्वाधार विकासमन्त्री तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको मन्त्रालय अन्तर्गत ४३ योजना पुननिर्माणार्थ ३ करोड १७ लाख बजेट आएको छ । त्यसैगरी अर्का सामाजिक विकासमन्त्री पाँचकर्ण राईको मन्त्रालय अन्तर्गत ४५ योजना मर्मतार्थ १ करोड ३९ लाख ५५ हजार बजेट प्राप्त भएको छ ।


मर्मतसंभार शीर्षकमा कम्तीमा १ लाख ५० हजारदेखि, २ लाख, अढाई लाख, ३, ५ ७, ८, ९, १०, १२, १३ र बढीमा २० लाखसम्मका मर्मतसंभारका योजना स्वीकृत छन् । सबभन्दा ठूलो साउनेचउर–बन्दुवा–आसावाला–फोक्सिङटार सडक मर्मतका लागि २० लाख,  हरेलोडाँडा–सन्सारीडाँडा –बङ्गुर फर्म–गुप्तेश्वर सडक मर्मतार्थ १० लाख बजेट परेको छ । 


तावाखोला–टेम्मा–याम्खा– पञ्चमी सडक १३ लाख, आहाले–साप्सुखोला–रातमाटा–कोटगाउँ सडक मर्मत १२ लाख, पञ्चमी–टुवाखोला–रोक्सिङ सडक १३ लाख, टुवाखोला–दिहुँ–जनसेवा मावि–छितापोखरी सडक मर्मत १० लाख प्राप्त भएको छ । अन्य धेरैजसो सडक, पुल तथा भवन मर्मतार्थ ७ लाख दरका योजना आएको छ । 


त्यस्तै ९ लाखको एएटा योजना छ भने ८ लाख दरका ३ योजना परेका छन् । ७ लाख दरका भने सबभन्दा बढी ३१ वटा सडक मर्मत शीर्षकमा पैसा आएको छ । त्यसैगरी ५ लाख दरका ५ र ३ लाख दरका ३ वटा योजना पनि मर्मत शीर्षकमै प्राप्त भएको छ ।


भौतिकमन्त्री भूपेन्द्र राईले ०८१ को वर्षामा पछिल्लो असोज १२ को बाढी पहिराले खोटाङमा डेढअर्बभन्दा बढीको भौतिक संरचना ध्वस्त भएको बताए । उनले व्यापक क्षति पुगेको पूर्वाधार संरचना एकैचोटी मर्मत संभार पुननिर्माण संभव नभए पनि सकेको गर्ने प्रयासस्वरुप प्रदेश सरकारले बजेट व्यवस्था गरेको बताए । चालुवर्ष मर्मत गर्न नसकेका योजनाहरु आगामी वर्षको नीति तथा कार्यक्रममै समेटेर आवश्यक बजेट व्यवस्थापन गर्ने मन्त्री राईले बताएका छन् ।