चौदण्डीगढीको पुँजीगत खर्च ३७ प्रतिशत

५ दिन अघि

२0८२ बैशाख ९ मंगलवार
चौदण्डीगढीको पुँजीगत खर्च ३७ प्रतिशत

उदयपुृर, वैशाख ९

आर्थिकवर्ष सुरु भएको ९ महिना बितिसक्दासम्म स्थानीयतहहरुले उत्साहजनक बजेट खर्च गर्न सकिरहेका छैनन् । कर्मचारी तलबभत्ता, जनप्रतिनिधिको पारिश्रमिकलगायत ‘सप्mटवेयर’को चालु बजेट खर्च सन्तोषजनक रहे पनि विकास निर्माण योजनामा लगाइने ‘हार्डवेयर’ पुँजीगत बजेट खर्च धेरै निराशाजनक छ । 


साउनदेखि चैत मसान्तसम्मको अवधिमा अधिकतर स्थानीयतहहरुको पुँजीगत बजेट लक्ष्यको आधा पनि खर्च हुन सकेको छैन । कतिपयको खर्च प्रतिशत एकल अङ्कमै सीमित छ भने केहीले दोहोरो अङ्कमा खर्च गर्न सफल भईरहेका छन् । जिल्लाका चौदण्डीगढी नगरपालिकाले भने झण्डै ४० प्रतिशत हिस्सा खर्च गर्न सफल भएको छ । 


आर्थिकवर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा चौदण्डीगढीले पुँजीगत बजेट ३७.०६ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले चालुवर्षका लागि विनियोजन गरेको पुँजीगत बजेट २२ करोड ३२ लाख ३५ हजार २ सय ६४ रुपैँयामध्ये ८ करोड २७ लाख ३१ हजार ७ सय ९४ रुपैँया खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए । 


नगरपालिकाले चालु बजेट भने ६४.१८ प्रतिशत खर्च गरिसकेको छ । यस आर्थिकवर्र्षका लागि विनियोजित ५८ करोड ६० लाख ४ हजार ३ सय ९६ रुपैँयामध्ये चैत मसान्तसम्म ३७ करोड ६१ लख १४ हजार ९५ रुपैँया खर्च गरिसकेको हाकिम राईले बताएका छन् । पुँजीगतको दाँजोमा चालुतर्फको बजेट खर्च धेरै भएको उनले बताए । उनका अनुसार चौदण्डीगढी नगरसभाले यसवर्षका लागि ८० करोड ९२ लाख ३९ हजार ६ सय ६० रुपैँयाको अनुमाननि बजेट पारित गरेको थियो । जसमध्ये साउनदेखि चैतसम्ममा ४५ करोड ८८ लाख ४५ हजार ८ सय ९० अर्थात ५६.७ प्रतिशत खर्च भएको हाकिम राईले बताएका छन् । 


नेपालका प्रायः सबै सरकारी कार्यालयको एउटै ‘महारोग’ भनेकै पुँजीगत बजेट समयमा खर्च नगर्नु हो । असार मसान्त नजिकिएपछि हतार हतार बजेट खर्च गर्ने परम्पराले एकातिर काम गुणस्तरीय नहुने तथा अर्कातिर जनताको पसिनाबाट सङ्कलित राजश्व रकमको चरम दुरुपयोग हुने गरेको छ । 


साउन १ गतेदेखि सुरु हुने आर्थिकवर्षका लागि अघिल्लो असारमै बजेट तथा नीति कार्यक्रम तर्जुमा गरेर पारित गर्ने प्रावधान छ । तर, दसैँ, तिहार, छठ, नेपाल संवत, उधौली, ल्होसार र अन्य विभिन्न नामधारी चाडबाडको बहानामा मङ्सिरसम्म विकास निर्माण योजनाहरु कर्यान्वयन गर्ने सुरसार नै गरिन्न । पूर्वाधार संरचना निर्माणको काममा खर्च हुने पुँजीगत बजेटको खर्च गर्न त झन्, संभाव्यता अध्ययन, सर्भेक्षण र विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्दै बीड आव्हान, ठेक्का सम्झौतादेखि सिल्यान्यासजस्ता कर्मकाण्डी गतिबिधिले पनि समय खर्चने गरेर काममा ढिलाई हुने गरको छ । 


कोष तथा लेखा नियन्त्रक कार्यालयले वार्षिक स्वीकृत बजेट र कार्यक्रम अनुसार असार २० गतेभित्र सबै योजना सम्पन्न गरी फरफरक गरिसक्नुपर्ने अग्रिम निर्देशन दिने गरेको छ । यति हुँदाहुँदै पनि पुँजीगत रकम खर्च गर्नेगरी साल तमामी नजिकिएपछि योजना सम्झौता र कार्यान्वयन गर्ने रोगले वर्षेनी ठूलो हिस्सा रकम फ्रिज (फर्कने) हुने गरेको छ । यसले छिटो निर्माण हुने योनजाहरु प्नि बहुवर्षीयमा धकेलिएर लागत मूल्य बढ्ने तथा भएको काम पनि गुणस्तरीय नभएर राज्यस्रोतको दोहन हुने समस्या छ । 


नगरप्रमुख कालुमान लामाले सकेसम्म बेलैमा पुँजीगत बजेट खर्च गर्ने प्रयास भईरहेको भए पनि विविध समस्याले हुन नसकेको बताए । नगरपालिकाको स्रोतबाट निर्माण हुने योजनाहरु ढिला भए बजेट संचित कोषमा राखेर अर्को वर्ष काम गर्न सकिने उनले बताए । तर, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त पुँजीगत बजेट भने असारभित्र खर्च गर्न नसके र मुनासिव कारण देखाउन नसके फ्रिज हुने मेयर लामाले बताए । उनले आगामी वर्षदेखि बेलैमा बजेट खर्च गर्न कार्यान्वयन प्रक्रियामा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।