केपिलासगढीमा पनि रेडपाण्डा भेटियो

१ हप्ता अघि

२0८२ बैशाख ७ आईतवार
केपिलासगढीमा पनि रेडपाण्डा भेटियो

खोटाङ, वैशाख ७

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उच्च भेगमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा खोटाङको अर्को ठाउँमा पनि फेला परेको छ । जिल्लाको दोस्रो ठाउँ उत्तर पहाडी भेगको केपिलासगढी गाउँपालिका १ फेदीस्थित चिलिम–लाहुरे सामुदायिक वनमा रेडपाण्डा फेला परेको हो । 

 

केही समयअघि रेडपाण्डाजस्तो जनावरको पाईला स्थानीयले भेटेपछि हो होईन भन्ने यकिन गर्न रेडपाण्डाको खोजी भईरहेको थियो । चिसो ठाउँ र बाँसका बुट्यानक्षेत्र जङ्गलमा रेडपाण्डा रहेको पुष्टि भएको हो । विश्वकै दुर्लभ र लोपोन्मुख वन्यजन्तुमा सूचिकृत रेडपाण्डा यसअघि दिक्तेल रुपाकोट मझुवागढी १० को पाथेकामा फेला परेको थियो । 

 

१० नं. वडा पाथेकास्थित मेरुङ सामुदायिक वन उपभोक्ता समूहको जङ्गलक्षेत्रमा रेडपान्डा फेला परेपछि नगरपालिकाले संरक्षणको कदम चालिसकेको छ । स्थानीयले देखेको खवर आएपछि १० नं. वडाध्यक्षसहित नगर कर्मचारी टोली खोजी गर्न जङ्गल पस्दा रेडपाण्डा फेला परेको हो । 

 

नगरपालिकाको टोलीले रेडपाण्डासँगै सो जङ्गलमा थार पनि रहेको पुष्टि भएपछि तिनको संरक्षण गर्न नगरपालिकाले वैशाख १ देखि ३ गतेसम्म ‘रेडपाण्डा–थार महोत्सव ०८२’ नै आयोजना गर्‍यो । दुर्लभ रेडपाण्डाको संरक्षण गर्दै नगरमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 

 

महोत्सवसँगै नगरले नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यको शुभारम्भसमेत गरेको छ । यसअघि खोटाङ र भोजपुर सीमाना हँुदै १५ दिन लामो पैदल यात्रामार्फत पूरा हुने ‘मुन्दुम ट्रेल’सँग जोड्ने गरी ‘रेडपाण्डा–थारु रुट’ गन्तव्यसमेत सुरु गरेको छ । पैदल यात्रामा ३ दिन लाग्ने नयाँ गन्तव्य रेडपाण्डा–थार रुटको शुभारम्भ गर्दै महोत्सव सकिएलगत्तै केपिलासगढीमा रेडपाण्डा फेला परेको हो ।

 

खोटाङको जनकल्याण समाज नेपालले रेडपाण्डा र थारजस्ता लोपोन्मुख वन्यजन्तुको खोजी गर्न ‘रेडपाण्डा नेटवर्क’ नामक गैरसरकारी सँस्थाको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको छ । समाजले पूर्वी नेपालका विभिन्न जिल्लामा ‘समुदायमा आधारित रेडपाण्डा (हाब्रे) संरक्षण परियोजना’ कार्यक्रम सञ्चालन गर्ने क्रममा रेडपाण्डा फेला पर्दै गएको हो । 

 

परियोजनाअन्तर्गत विभिन्न सामुदायिक वन समूहमा खोजी गर्ने क्रममा चिलिम–लाहुरे सामुदायिक वन समूहमा स्थानीय मनोज राईले केहीदिनअघि रेडपाण्डा भेटेर त्यसको तस्विर र भिडियो खिचेका थिए । सोही फोटो र भिडियोका आधारमा जङ्गलमा रेडपाण्डा भेटिएको  समाजका कार्यक्रम अधिकृत तेजबिनोद पोखरेलले बताए । 

 

रेडपाण्डा भेटिएपछि संरक्षणका लागि वन समूहमा ‘चिलिम लाहुरे रेडपाण्डा ब्लक’ नै घोषणा गरेर संरक्षण गर्न थालिएको छ । रेडपाण्डा संरक्षणकै लागि घोषित ब्लकको रेखदेख गर्न स्थानीय धनकुमार राई र कुमारजङ राईलाई हेरालु नियुक्त गरेर खटाइएको पनि निर्देशक पोखरेलले बताएका छन् । 

 

जनकल्याण समाजका अध्यक्ष वीरेन्द्र मगरका अनुसार स्थानीयले बेलाबेलामा अनौठो र नयाँ जीव देख्ने गरेपछि रेडपाण्डा हो कि होईन भन्ने यकिन गर्न गतवर्ष सर्भेक्षण गरिएको थियो । सर्भेक्षण क्रममा रेडपाण्डा भएको प्रमाणित भएपछि यसवर्षदेखि महोत्सव आयोजना गर्न थालिएको हो । त्यसलाई पुष्टि गर्ने गरी खोजी अभियान चलाएर संरक्षण गर्नेगरी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मगरले बताएका छन् ।