प्रहरीलाई चट्याङ जोखिम न्यूनिकरण र उद्दार तालिम 

२३ घण्टा अघि

२0८२ बैशाख ५ शुक्रबार
प्रहरीलाई चट्याङ जोखिम न्यूनिकरण र उद्दार तालिम 

उदयपुर, वैशाख ५

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले चट्याङबाट बँचाउने उदेश्यले जोखिम न्यूनिकरण र उद्धार तालिम आयोजना गरेको छ । वर्षायाममा हुने चट्याङबाट बँच्न र बँचाउन ‘चट्याङ जोखिम न्यूनिकरण तथा उद्दारका लागि प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतसम्मलाई ३ दिने अनुशिक्षण तालिम दिएको हो । 


प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको प्रथम समूहको यो तालिम शुक्रबार समापन भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द अधिकारीले प्रदेश प्रहरी कार्यालयको सभाहलमा तालिमको समापन गरे । समापन गर्दै एसएसपी अधिकारीले तालिममा सिकेका ज्ञान र सिपबाट उर्जा प्राप्त गर्र्दै तोकिएको कार्यक्षेत्रमा खटेर पीडित समुदायलाई चट्याङबाट बँचाउन निर्देशन दिए । 


प्रहरी र समुदायको साझेदारीमार्फत जनतालाई सचेतनामुलक कार्यक्रमको आयोजना गरी चट्याङको जोखिम कम गर्न तथा चट्याङ लागिहाले त्यसबाट बँच्न उद्धारको तरिकाबारे जानकारी गराई भौतिक तथा मानवीय क्षति हुनबाट रोक्न तालिम प्राप्त प्रहरीलाई निर्देशन दिए । साथै चट्याङका कारण मानवीय र भौतिक संरचनाको क्षति भएमा तत्काल उद्धार कार्यमा प्रयोग गरिने पोशाक र आवश्यक स्रोतसाधानको प्रयोग गरी बचाउमा लाग्न उनको निर्देशन थियो । 


तालिम संयोजक डिएसपी ध्रुबकुमार श्रेष्ठले कार्यक्रममा तालिमबारे प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका अर्का डिएसपी सत्यनारायण जैसवाल, विद्युत प्राबिधिकरणका ईन्जिनियर प्रविन यादवलगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत कर्मचारीको पनि उपस्थिति थियो । तालिमबाट १ नं. प्रदेश अन्तर्गतका बिभिन्न युनिटमा कार्यरत जुनियर प्रहरी अधिकृतदेखि जवानसम्मका ३० जना प्रशिक्षार्थी लाभान्वित भएका छन् ।