अन्तरवडास्तरीय पुरुष–महिला भलिबल उपाधि हिम्मालाई 

१ दिन अघि

२0८२ बैशाख १ सोमबार
अन्तरवडास्तरीय पुरुष–महिला भलिबल उपाधि हिम्मालाई 

जाँते, वैशाख १

उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिका ५ को जाँतेमा सम्पन्न ‘वडास्तरीय भलिबल प्रतियोगिता ०८१’को उपाधि हिम्माले जितेको छ । वडा कार्यालयको युवा तथा खेलकुद विकास समितिको आयोजनामा समपन्न भलिबल प्रतियोगिता महिला–पुरुष दुवै तर्फको उपाधि साविक ८ नं. वडा हिम्माले चुमेको हो । 


संबत ०८१ को विदाई गर्दै नयाँ वर्ष ०८२ लाई स्वागतमा आयोजित प्रतियोगिताको उपविजेता पुरुषतर्फ साविक ६ नम्बर वडा राजखुङ भयो भने तेस्रो स्थान साविक १ टोड्केले लिएको छ । त्यस्तै महिलातर्फको उपविजेता साविक ७ नं हिम्मा हुँदा तेस्रो स्थान साविक ५ नं चौलाने भएको आयोजक वडा खेलकुद समितिका अध्यक्ष रमणशेर राईले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी महिलातर्फ सुन्दरी राई र पुरुषतर्फ टाईसन राई घोषित भए ।


महिला–पुरुष दुवैतर्फ विजेतालाई उपाधिसहित १३ हजार नगद पुरस्कार प्रदान गरियो । त्यस्तै उपविजेतालाई १० हजार र तेस्रो स्थान पाउने टिमले ७ हजार नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । विजयी टिम र खेलाडीलाई वडाध्यक्ष कविचन्द्र राई, सचिव मुना राउत र वडा सदस्यहरुले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । 


स्थानीय जनता माध्यमिक विद्यालय रसुवा जाँतेको खेल मैदानमा चैत ३० र ३१ गते सम्पन्न प्रतियोगितामा पुरुषतर्फ १० टिम र महिलातर्फ ५ गरी १५ टिमको सहभागिता रहेको थियो ।