घरेलु उद्योग महासङ्घ अध्यक्षमा बिना 

२ दिन अघि

२0८१ चैत्र ३0 आईतवार
घरेलु उद्योग महासङ्घ अध्यक्षमा बिना 

गाईघाट, चैत ३१

साना लगानीका उद्यम व्यवसायीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई निर्वाचित भएकी छिन् । शनिबार गाईघाटमा सम्पन्न ११ औँ जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा उद्यमी ज्ञानु प्रदान र उपाध्यक्ष नेत्र हिमाली चयन भएका छन् । महासचिव भुपध्वज बस्नेत, सचिव तारा नेपाली र कोषाध्यक्षमा प्रमिला दनुवार छानिएका छन् । सदस्यमा धनबहादुर कटुवाल, गौरीनारायण चौधरी, चन्द्रवहादुर बिक, सुरेशकुमार शर्मा र खड्गबहादुर सिंह छानिएको बन्दशत्र निर्वाचन समितिले जनाएको छ । 


अधिवेशनले बिनु राउतको अध्यक्षतामा महिला उद्यमी समिति पनि गठन गरेको छ । जसको उपाध्यक्ष फुलकुमारी आले, महासचिव सरिता गेलाल चयन भएका छन् । अधिवेशनको बन्दसत्रले शनिबार अवेर राति लामो छलफलपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो । 


नयाँ कार्यसमितिले आईतबार विहान सपथ लिदै जिल्लाका लघु, घरेलु तथा साना र मझौला उद्यम व्यवसायीको पेशागत हकहित केन्द्रित काम गर्ने प्रतिबद्धता जनाएको छ । नवनिर्वाचित अध्यक्ष राईले उदयपुरका सञ्चालित घरेलु, लघु, साना तथा मझौला उद्यमी व्यवसायीको हकहित, विकास र प्रबद्र्धनको दायरा फराकिलो बनाउँदै आवधिक योजना बनाएर अघि बढ्ने बताईन् । 


उदयपुरमा १० हजार बढी उद्योग व्यवसाय दर्ता भएर सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले जनाएको छ । कार्यालय प्रमुख अर्जुन घिमिरेका अनुसार जिल्लामा उद्योगतर्फ ६ हजार २ सय ५९ फर्म÷उद्योगहरु दर्ता भई कृयासिल छन् भने बाणिज्यतर्फ ३ हजार ९ सय ५९ उद्यम व्यवसाय सञ्चालित छन् । यसरी उद्योग र बाणिज्य गरी १० हजार २ सय १८ वटा व्यवसायिक फर्महरु सञ्चालनमा छन् । 


कार्यालयका अधिकृत दिनेश रेग्मीका अनुसार उदयपुरमा कुटिर, ढाका कपडा, मसला उद्योग, समिल, कुटानी पिसानी मिल, फलामका हतियार कारखाना सञ्चालित छन् । त्यस्तै प्लास्टीक उद्योग, क्रसर, चुनढुङ्गा खानी, गिटी बालुवा प्रशोधन, पानी प्रशोधन, वन पैदाबार, पशुपालन, कृषि र तरकारी खेती फारम, छापाखानालगायत उद्यम व्यवसाय दर्ता भई सञ्चालनमा रहेको रेग्मीले बताए । 

यसैबीच आफ्नै गाउँठाउँमा उद्यम व्यवसायमार्फत रोजगारी सृजना गरी युवा विदेश पलायन रोक्नुपर्नेमा सामाजिक अगुवाहरुले जोड दिएका छन् । स्थानीय उत्पादनमा लागेर रोजगारी सृजना गर्नु नै युवा पलायन रोक्ने प्रमुख आधार हुनुसक्ने भन्दै अगुवाहरुले साना लगानीका लघु उद्यम तथा मझौता उद्योग र व्यवसाय सञ्चालन गर्दै रोजगारी सृजना गर्न सके कहालीलाग्दो विदेश पलायन रोक्न सकिने बताए । 


कृषि, उद्यम, पशुपालन, कुटिर उद्योग, मौसमी तथा बेमौसमी तरकारी खेतीमा लगानी गरेर युवाहरुलाई रोजगारी दिन सके विदेशमोह कम  गर्न सकिने उनीहरुको सुझाव थियो । उद्यम व्यवसाय गर्नका लागि एकल वा सामुहिक लगानीमा जोड दिदै उनीहरुले त्यसका लागि स्थानीयतह, प्रदेश र सङ्घीय सरकारहरु पनि लगानीमैत्री हुनुपर्नेमा पनि उनीहरुको जोड थियो । त्यसका लागि तीनवटै सरकारबीच समन्वय गर्दै उद्यमी व्यवसायीका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने पनि उनीहरुको माग थियो । 


उद्यम व्यवसायमार्फत गाउँघरमै रोजगारी सृजना गर्न सकिनेमा कुनै शङ्का नरहेको धारणा राख्दै जिल्लाका अगुवा व्यवसायीहरुले युवा पलायन कहालीलाग्दो भएको,  सहरीया जीवन बढ्दै गएर गाउँघर बाँझिदै र रित्तिदै जानु नेपाली समाजका लागि प्रत्युत्पादक हुने खतरा पनि औँल्याएका छन् । यही गतिले बसाईसराई र विदेश पलायन नरोके नेपाल केही समयभित्रै खण्डहर बन्ने कुराप्रति सबैपक्ष बेलैमा सचेत हुन पनि उनीहरुको खवरदारी छ। 


घरेलु उद्योग महाङ्घका निवर्तमान अध्यक्ष मधुकर थापाले युवा पलायन रोक्न तथा सानो लगानीबाटै गाउँघरमा स्वरोजगार बन्न सकिने बताउँदै त्यसका लागि महासङ्घ लागी पर्दै आएको बताए । आफु स्वरोजगार बन्न तथा रोजगारी सृजना गरेर युवालाई विदेश पलायन रोक्न स्थानीयस्तरमै उद्यम व्यवसाय गरेर आयआर्जन गरि आत्मनिर्भर हुने सबभन्दा उत्तम बिकल्प घरेलु उद्यम नै भएको पनि थापाले बताए । 


तर, त्यसका लागि तीनतहका सरकार उद्योग व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिदै अहिलेसम्म सरकारले त्यसप्रति चासो नदिएको दुखेसो गरे । उनले त्यसप्रति सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने माग पनि गरे ।