फोक्सिन्टार पुललाई बजेट सुनिश्चित, ठेक्का लाग्ने टुङ्गो छैन

१४ घण्टा अघि

२0८१ चैत्र २९ शनिबार
फोक्सिन्टार पुललाई बजेट सुनिश्चित, ठेक्का लाग्ने टुङ्गो छैन

गाईघाट, चैत ३०

गएको असोज १२ गते रातिको बार्ढीले भत्काएको फोक्सिन्टारस्थित पुलको ठाउँमा नयाँ पुल बन्ने भएको छ । उदयपुर र खोटाङ जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुन नदीमा भत्केको पुलको ठाउँमा नयाँ पुल बनाउन अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको छ । 


सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ३ फोक्सिन्टारस्थित सुन नदीको १ सय २० मिटर लामो आर्क डिजाईनको पक्की पुल असोज १२ गते रातिको बाढीले बगाएको थियो । पुल बगाएसँगै उदयपुर र खोटाङको विच्छेद भएको यातायात सम्बन्ध पुस अन्तिम साता बेलिब्रीज निर्माण गरेर सुचारु गरिएको थियो । 


पुसमा निर्मित बेलिब्रीज वर्षायाम सुरु भएसँगै यही वैशाखभित्र भत्काउने बेला भईसकेको छ । बेलिब्रीज निकालेपछि पुनः यातायात सम्पर्क टुट्ने अवस्थामा अर्थ मन्त्रालयले नयाँ पुल बनाउन बजेट सुनिश्चित गरेपछि उदयपुर र खोटाङबासी खुसी भएका छन् । ठेक्का लागेको १२ वर्षमा निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने तयारी भईरहेका बेला पुल भत्केपछि ठेकेदार कम्पनीप्रति कामको गुणस्तरबारे प्रश्न उडेको छ । गुणस्तरीय सामान प्रयोग नगरकैले बाढीले पुल भत्काएको प्राविधिक ठहर छ । 


नयाँ पुल बनाउन ३५ करोड बजेट सुनिश्चित भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख (डिई) पशुपति ज्ञवालीले पुष्टि गरेका छन् । पुल भत्केको स्थलगत अनुगमन निरीषणपछि नयाँ निर्माण गर्नेगरी प्राविधिक इस्टीमेट गरी पठाइएको फाईल सदर गर्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको ज्ञवालीले बताए । बजेट सुनिश्चित भए पनि ठेक्का लगाउने अवस्था भने अहिले नै नभएको डिई ज्ञवालीको भनाई छ । 


बाढीले भत्काएको पुल निर्माण गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने या नयाँ पुल बनाउने प्रक्रिया थाल्ने भन्ने अहिले नै यकिन भईनसकेको उनको भनाई छ । पहिला मन्त्रालयले यसको टुङ्गो लगाएपछि मात्र पुल बनाउने प्रक्रिया अघि बढाउने डिई ज्ञवालीको अनुमान छ । ‘बजेट सुनिश्चित भएको पत्र आएको छ, तर काम सुरु गर्ने निर्देशन आएको छैन’ डिई ज्ञवालीले भने ‘हस्तान्तरण नभई  पुल भत्केकाले त्यसको ठेकेदारलाई के गर्ने भन्ने यकिन नै भईसकेको छैन । यसबारे मन्त्रालयले टुङ्ग्यो लगााएपछि मात्र नयाँ पुल बनाउने ठेक्का प्रक्रिया अघि बढ्ला ।’


बजेट सुनिश्चित भए पनि फोक्सिन्टारमा तत्काल पुल बनिहाल्ने संभावना नभएको भन्दै स्थानीयले भने तत्काललाई काम चलाउन बैकिल्पक सडक निकाल्नुपर्ने माग गरिहेका छन् । उदयपुरभन्दा खोटाङबासीलाई बढी आवश्यक पर्ने फोक्सिन्टार नाकामा पुल नहुदा दक्षिण–पूर्वी खोटाङबासी प्राकृतिक नाकाबन्दीमा पर्ने भएकाले बैकल्पिक सडक निकाल्न माग बढेको हो । नयाँ पुल बन्न वर्षौँ लाग्ने भएकाले जिल्लाबासीलाई प्राकृतिक नाकाबन्दीबाट बचाउन बैकल्पिक सडक खन्नुपर्ने स्थानीयको सुझाव छ । 

 

नेकपा (माओबादी केन्द्र)का खोटेहाङ गाउँ पाटी अध्यक्ष इनद्रबहादुर राई फोक्सिन्टारमा दशक बढी समयमा बनेको पुल भत्केको भन्दै नयाँ पुल बनाउन अर्को दशक कुनुपर्ने संभावना भएकाले छिटो छरितो बैकल्पिक सडक निकाल्न सुझाउँछन् । त्यसका लागि सबभन्दा छिटो र सजिलो बिकल्प धाप्लाङघाटमा निर्माणाधीन पुललाई चाँडो सक्नु एकमात्र बिकल्प भएको उनको बुझाई छ । फोक्सिन्टारदेखि धाब्लाङसम्मको दूरी बढीमा १०–१२ किलोमिटर भएकाले त्यहाँसम्म नयाँ ट्र्याक खोल्न सके यही वर्षामा पनि धाब्लाङस्थित झोलुङ्गे पुल भएर पनि आउजाउ गर्न सकिने उनको सुझाव छ । 


धाब्लाङमा निर्माणाधीन पुल पनि ७ वर्षअघि सुरु भएको हो । ०७४ भदौमा सिल्यान्यास भएको पुल वेल फाउण्डेशनको डिजाईन परिवर्तन गरेर एकवर्षयता पाईल फाउण्डेशन प्रविधिमा निर्माण सुरु भएको छ । पक्की पुल बनाउन अझै १ डेढ वर्ष लाग्ने भए पनि त्यहाँ झोलुङ्गे पुल भएको र वारि त्रियुगा नगरपालिका १४ साउनेसम्म र पारि बाराहापोखरी गाउँपालिका ३ चेकेथुमसम्म जोड्ने ग्राबेल सडक सञ्चालन भएकाले आउजाउ गर्न सहज हुने खोटाङबासी बताउँछन् । 


बाराहापोखरीका युवा व्यवसायी मुकेश राईका अनुसार फोक्सिन्टारदेखि धाब्लाङसम्मको दूरीलाई कच्ची सडकले जोड्न सके यही आउँदो वर्षादेखि नै फोक्सिन्टारमा पुल नबनेसम्म बैकल्पिक बाटो काम चलाउ आउजाउ गर्न सकिन्छ । बढीमा वैशाखभित्र बेलिब्रीज हटेपछि फोक्सिन्टार नाका भएर यातायात सम्बन्ध पूर्णरुपमा बन्द हुने भएकाले फोक्सिन्टार–धाब्लाङ जोड्ने कच्ची ट्र्याकसम्म खोल्न राज्यको ध्यान जानुपर्ने राईको माग छ । 


‘फोक्सिन्टारको बेलीब्रीज भएको ठाउँदेखि धाप्लाङघाट जोड्ने नयाँ ट्र्याक खोले यही वर्षादेखि पुल नबनेसम्म कामचलाउ सडक सबभन्दा उत्तम हुन्छ’ राईले भने ‘त्यसका लागि स्थानीइतहदेखि प्रदेश र सङ्घीय सरकारसम्मले साझेदारीमा बजेट लगाउन हामी आग्रह गर्दछौँ ।’ सो दूरीमा नयाँ सडक निर्माण गर्दै हाल सञ्चालित दिक्तेल–पञ्चमी–खोटाङबजार–चिसापानी–बंशीलाघाट सडक कालोपत्रे गर्नसके खोटाङसँगै ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको केही भागसमेत लाभान्वित हुनुका साथै पूर्वी भेग जान छोटो बाटो तय हुने स्थानीय बताउँछन् ।