वडा कप फुटबल श्रीपुर (ए)को पोल्टामा 

१ दिन अघि

२0८१ चैत्र २८ शुक्रबार
वडा कप फुटबल श्रीपुर (ए)को पोल्टामा 

श्रीपुर, चैत २९

त्रियुगा नगरपालिका ५ श्रीपुरमा आयोजित ‘चौषो वडाध्यक्ष कप फुटबल प्रतियोगिता ०८१’को उपाधि आयोजक श्रीपुर (ए)ले चुमेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा आयोजक श्रीपुर फुटबल क्लब (ए)ले डिएमगेट त्रियुगा १२ लाई ४–० गोलको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । 


श्रीपुरका खेलाडी प्रविण राई एक्लैले ह्याट्रिक गरेका थिए भने अर्का खेलाडीको थप एक सहित ४ गोलले टिमलाई उपाधि जिताउन सफल भएको आयोजक क्लबका सचिव चन्द्र राईले बताए । त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले विजेता प्रथम श्रीपुरलाई ४० हजार नगद र ट्रफी प्रदान गरे । 


त्रियुगा ५ का वडाध्यक्ष उद्धव थापाले उपविजेता डिएमगेटलाई २० हजार नगद र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा प्रतियोगिताका म्यान अफ द म्याच, टिम कोच, व्यवस्थापक र एम्पायरहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । 


श्रीपुरस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिता चैत २२ शुक्रबार सुरु भएको थियो । प्रतियोगितामा विभिन्न वडाका ८ टिमको सहभागिता थियो । 


समापन समारोहमा क्लबका अध्यक्ष विष्णु भुजेलले सहयोगी सङ्घ सँस्था र मिडियाकर्मीलाई मायाको चिनो वितरण गरेका थिए ।