एकै घण्टाको वर्षाले सीमानपुरको पुल भत्कायो

२ दिन अघि

२0८१ चैत्र २७ बिहीबार
एकै घण्टाको वर्षाले सीमानपुरको पुल भत्कायो

कटारी, चैत २८ 

बिहीबार विहान परेको एकघण्टाकै भिषण वर्षाले सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चया–कटारी सडक खण्डको निर्माणाधीन पुल भत्काएको छ । बाढीले कटारी नगपालिका २ स्थित सिमानपुर खोलामा निर्माणाधीन पुलको स्ल्याब ढलान भत्काएर क्षति पुर्‍याएको हो । 

 

वडाध्यक्ष प्रेमराज थापाका अनुसार विहान ९ः३० देखि सुरु भिषण वर्षा १०ः३० बजेसम्म परेर आएको बाढीले पुलको ढलान गर्न राखेको टेको बगाएपछि पुलको बीच भागकै स्ल्याब ढलान भाँचिएको छ । ३ दिनअघि मात्र स्ल्याब ढलान गरेको पुल बाढीले कामै नलाग्ने गरी भत्काएर क्षति पुर्‍याएको वडाध्यक्ष थापाले बताए । 

 

क्षतिग्रस्त पुलको इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले रेखदेखको जिम्मा पाएको कार्यालय प्रतिनिधि र जनप्रतिनिधिको रोहबरमा घट्नास्थलको क्षति विवरण यकिन गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार टोलीले तयार पारेको घट्नास्थलको सर्जमिन मुचुल्कामा बाढीले २ करोड बराबरको क्षति भएको उल्लेख छ । 

 

पुल रेखदेखको जिम्मा पाएको कटारी–घुर्मी सडक योजना कार्यालय उदयपुरले भत्केको पुलको प्रहरी सर्जमिन मुचुल्का तयार गरी क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने जनाएको छ । योजना प्रमुख (डिई) पशुपति ज्ञवालीका अनुसार क्षति विवरणसहित निर्माण कम्पनीले क्षतिपूर्ति दावी गर्न आवश्यक कानुनी प्रक्रिया पुरा गरी सिफारिस गर्नेछ । निर्माण कम्पनीले बिमा गरेका कारण क्षतिपूर्ति पाउने पनि डिई ज्ञवालीले बताए । 

 

सूर्य एन्ड सन्स कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको प्रिस्ट्रेस बक्सवेदर प्रविधिको ५० मिटर लामो सो पुलसहित मिर्चया–कटारी खण्डमा विभिन्न ४ पुल एकैचोटी बनिरहेका छन् । जसमध्ये सबभन्दा पहिला निर्माणको अन्तिम चरणमा पुगेको सिमानपुर पुल बाढीले भतएर क्षति पुर्‍याएको हो । प्रालिले एकैदिन २०७९ असार २९ गते ४ वटै पुल बनाउन २८ करोड ९९ लाख ४ हजार लागत मूल्यमा ठेक्का सम्झौता गरेको डिई ज्ञवालीले बताएका छन् । 

 

अन्य ३ वटा पुलहरु भने निर्माणको प्रारम्भिक चरणमा रहेका छन् । सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी खण्डमा रहेका विभिन्न ससाना खहरे खोलाहरु हिउँदमा सुख्खा भए पनि वर्षायाममा सामान्य वर्षामै बाढीको रुप लिएर वितण्डा मच्चाउने गरेका छन् । चुरे र घना जङ्गल शीर भएकाले ती खहरे खोलाहरु सामान्य वर्षामै ढुङ्गा माटोसहित बोकेर आउने बाढीले आउजाउमा रोक लगाउनेदेखि जमिन कटानसम्मको समस्याले स्थानीय प्रताडित हुँदै आएका छन् ।