६ दिन अघि
२0८१ चैत्र ११ मंगलवारबाराहा, चैत १२
बिकट पहाडी गाउँपालिका लिमचुङबुङको आधारभूत अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । गाउँपालिका केन्द्र ३ नं. वडा बाराहामा निर्माणाधीन भवन ९५ प्रतिशत सम्पन्न भईसकेको जनाइएको छ ।
प्रशासनिक भवनदेखि करिव ५ सय मिटर दक्षिणतर्फ निर्माणाधीन ५ शैय्याको २ वटा भवन निर्माण सकेर हस्तान्तरणको तयारीमा पुगेको प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले बताए । २ वर्षभित्र अर्थात ०८० चैत २५ गतेभित्र समपन्न गर्नेगरी एएम/पायनियर्स जेवीले ०७७ चैत २५ गते योजना सम्झौता गरेको भवन विभिन्न कारणले ढिला भएपछि २ वर्ष म्याद थपिएको छ ।
भवन बनाउने आवश्यक कच्चा पदार्थ निर्माणस्थलसम्म पुर्याउन भौगोलिक कठिनाई तथा सडकको दूराबस्था र अन्त्य विविध कारणले सम्झौता अवधिभित्र नसकिएकाले २ वर्ष म्याद थपिएको हाकिम राईले बताए । उनका अनुसार एकातर्पm भवन निर्माणस्थलसम्म जाने बाटो भएकाले नयाँ खन्नुपर्ने तथा अर्कातर्फ त्यहाँको जमिन भिरालो हुनाले सम्याएर घडेरी खार्न नै ६ महिना समय लागेकाले काम ढिला हुन गएको हो ।
हाकिम राईका अनुसार भवनको भौतिक कार्य सकिइसकेको र झ्यालढोका रङरोगनलगायत फिनिसिङको काम गर्न मात्र बाँकी रहेको छ । अव छिट्टै भवन सकेर गाउँपालिकालाई हस्तान्तरण गरेपछि नयाँ भवनबाट अस्पताल सुचारु हुने राईले बताए ।
सो भवन ७ करोड ७७ लाख १३ हजार ९ सय ५३ रुपैँयाको प्राविधिक इस्टीमेट भए पनि निर्माण व्यवसायीबीच प्रतिस्पर्धा गराउँदा ४ करोड ८० लाख १९ हजार ३ सय ७१ रुपैँयामा ठेक्का लागेको थियो । लेखापाल नविन राईका अनुसार भवन बनाउने ठेकेदार कम्पनीले हालसम्म ३ करोड ७६ लाख ६५ हजार १ सय २२ रुपैँया भुक्तानी लगिसकेको छ ।
लिमचुङबुङमा ४ वर्षअघिदेखि नै ‘एलबी कार्की स्मृति आधारभूत अस्पताल’ सञ्चालनमा ल्याएर स्थानीयबासीलाई स्वास्थ्य सेवा दिदै आएको गाउँपालिका अध्यक्ष मेजरकुामार राईले बताए । उनका अनुसार नयाँ अस्पताल भवन बनाउन निःशूल्क जमिन दान दिएका चित्र कार्की परिवारको सम्मानस्वरुप आधारभूत अस्पताललाई ‘एलबी कार्की स्मृति अस्पताल’ नामाकरण गरिएको हो ।
भवन अभावमा हाल ३ नं. वडाको पुरानो स्वास्थ्य चौकी भवनबाट अस्पताल सञ्चालन भईरहेको छ । पुरानो भवन तथा कोठाहरु साँघुरा भएकाले एउटा कच्ची टहरा बनाएर अस्पताल सञ्चालन गर्नुपर्दा निकै कठिन भईरहेको गाउँपालिकाका लेखा सहायक ज्ञानेन्द्र राई बताउँछन् ।
नयाँ भवन बनेपछि अस्पताल स्थान्तरण गरेर व्यवस्थितरुपमा स्वास्थ्य सेवा सुचारु गरिने उनलेब ताए ।