१ हप्ता अघि
२0८१ चैत्र ९ आईतवारउदयपुर, चैत १०
नेकपा (माओबादी केन्द्र)ले प्रदेश सरकारले आयोजना गरेको ‘योजना छनौट तथा योजना बैंक सम्बन्धी अभिमुखिकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठी’मा सहभागी नगराएकोप्रति आपत्ती जनाएको छ । प्रदेश योजना आयोगले अघिल्लो दिन जिल्लाको कटारी बजारमा आयोजना गरेको गोष्ठीमा राजनीतिक दलहरुलाई नबोलाएको भन्दै माओबादीले असहमति जनाएको हो ।
प्रदेश योजना आयोगले शनिबार कटारी नगरपालिका ३ स्थित कटारी बजारमा योजना छनौट तथा योजना बैँकसम्बन्धी अभिमुखीकरण र वार्षिक योजना तर्जुमा गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा प्रदेशसभा सदस्य, स्थानीयतहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई मात्र बोलाइएको थियो ।
प्रदेशसभाले गर्ने योजना छनौट तथा पहिचान र योजना बैँकसम्बन्धी जानकारी दिने उदेश्य लिइएको गोष्ठीमा स्थानीय राजनीतिक दलहरूलाई नबोलाउनु पूर्वाग्रह या नजर अन्दाज हो भन्ने ठम्याई रहेको माओबादीको बुझाई छ । पार्टी कटारी नगर कमिटी अध्यक्ष कमल श्रेष्ठले आईतबार एक विज्ञप्ती प्रकाशित गर्दै यस्तो कार्यक्रममा दलहरुलाई पनि अनिवार्य सहभागी गराउने व्यवस्थाको उल्लङ्घन गरेकोमा प्रदेश योजना आयोगको यस्तो रबैयाप्रति खेद प्रकट गरेका छन् ।
प्रदेश योजना आयोग विराटनगरले आयोजना गरेको सङ्घीय निर्वाचनक्षेत्रस्तरीय यस्तो महत्वपूर्ण कार्यक्रममा दलहरूलाई सहभागी नगराएको प्रति विज्ञप्तीमा गम्भीर ध्यानाकर्षण भएको श्रेष्ठले जनाएका छन् । योजना पहिचान, छनौट र कार्यान्वयमा राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका हुन भन्दै तर, यस्तो कार्यक्रममा दलहरूलाई सहभागी नगराई गुपचुपमा कार्यक्रम गर्नुपर्ने कारण सोध्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा गरिने यस्ता कार्यक्रममा दलहरुलाई नछुटाउन अनुरोधसमेत गरेका छन् ।