‘त्रियुगा सङ्गीत विद्यालय’ले पायो हार्मोनियम र मादल

१ हप्ता अघि

२0८१ चैत्र ९ आईतवार
‘त्रियुगा सङ्गीत विद्यालय’ले पायो हार्मोनियम र मादल

उदयपुर, चैत १०

सदरमुकाममा सञ्चालित त्रियुगा सङ्गीत विद्यालयलाई विभिन्न बाद्यबादन सामग्री प्राप्त भएको छ । गाईघाटमा १ दशकयता सञ्चालन हुँदै आएको सङ्गीत विद्यालयलाई विभिन्न दाताहरुबाट बाद्यबाधन सामग्री प्रदान गरेका हुन् । 


त्रियुगा ११ गाईघाट बजारका व्यापारी सुबोध ठाकुरले ३२ हजार ५ सय मूल्य पर्ने बिना १७ कम्पनीको १ थान हारमोनिय दिएका छन् भने त्रियुगा १२ पुरानो गाईघाटका समाजसेवी भूपेन्द्र शर्मा कट्टेलबाट पनि ३२ हजार ५ सय मूल्यकै सोही कम्पनीको १ थान हारमोनियम दिएका छन् । त्यसैगरी ओम्स् नेपाल नामक सँस्थाबाट पनि सोही मूय बराबरको हारमोनियम प्राप्त भएको छ । 


त्यसैगरी ओम्स् नेपालकै तर्फबाट ३५ ह जनार मूल्य पर्ने सफारी १ थान हार्मोनियम बक्ससहित प्राप्त भएको छ । भने सोही सँस्थामा आबद्ध रामेछाप घर भई गाईघाट बजार प्रतिनिधि रहेका युवा प्रकाश खत्रीले ५ हजार मूल्यको जाली मादल १ थान प्रदान गरेको विद्यालयका कार्यकारी निर्देशक तथा प्रशिक्षक सङ्गीतकार शैलेन्द्र खतिवडाले बताए । 


खतिवडाले त्रियुगा नगरपालिका १२ साधना टोलस्थित आफ्नै घरमा स्थापना गरी सञ्चालन गर्दै आएको विद्यालय प्राङ्गणमै शनिबार दिउँसो आयोजित कार्यक्रममा दाताहरुले सामग्री हस्तान्तरण गरे । प्रशिक्षक खतिवडाले प्राप्त सामग्रीबाट विद्यालयलाई ठूलो सहयोग पुग्ने भन्दै दाताहरुलाई धन्यबाद दिए । 


दाताहरुले बाद्यबादन सामग्री सङ्गीत विद्यालयका पहिलो विद्यार्थी रहेका ७२ वर्षीय होमनाथ पोखरेललाई हस्तान्तरण गरे ।  पोखरेलले विद्यालयका संरक्षक तथा प्लेयिङ फर चेन्ज फाउण्डेसन अर्थात युनाईटेड वल्र्ड साईनका नेपाल प्रमुख श्याम बस्नेतलाई र बस्नेतले विद्यार्थी भूमिका तामाङलाई हस्तान्तरण गरेका थिए । बस्नेत कटारी नगरपालिका ५ तीनतलेका स्थायी बासिन्दा छन् । 


कटारी ५ मा ०६९ सालदेखि तीनतले सङ्गीत विद्यालय खोलेर ५ सय बढी विद्यार्थीलाई सङ्गीत सिकाउँदै आएका बस्नेतले त्रियुगा सङ्गीत विद्यालयलाई सक्दो सहयोग गर्दै आएको खतिवडाले बताएका छन् । उनका अनुसार १३ थान हार्मोनियम, ३ थान गितार, मादल र विभिन्न खाले बाद्यबादनका सामग्री बस्नेतले विद्यालयलाई सहयोग गरिसकेका छन् । 


त्रियुगा सङ्गीत विद्यालयमा हाल ९५ किशोरीसहित १ सय ४० जना विद्यार्थी सङ्गीत सिकिरहेको खतिवडाले बताए । १८ वर्षको उमेरदेखि हार्मोनियममा खेल्दै सङ्गीतमा रम्दै आाएका खतिवडा पूर्व शिक्षकसमेत हुन् । शिक्षण पेशाबात गतवर्ष सेवानिबृत्त भएका उनी त्यसपछि व्यवसायिक रुपमा सङ्गीत प्रशिक्षणमा लाग्दै आएका छन् । तर, सङ्गीत विद्यालयलाई स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकार कसैले सहयोग नगरेकाले दाताहरुको भरमा चलाउनु परेको बाध्यता उनले सुनाए । 


कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा साँसद सम्झना पाख्रिन (योद्धा)ले आगामी वर्षको बजेटमा प्रदेश सरकारबाट केही बजेट विनियोजन गरिदिने आश्वासन दिईन् । त्यस्तै त्रियुगाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले आउदो आर्थिकवर्ष बजेट सहयोग गर्न आफुले जनप्रतिनिधिलाई सुझाव दिने बताए । 


कार्यक्रममा त्रियुगा बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख डा. कैलाश राई, ११ नं. वडाध्यक्ष सुमन्त कोईराला, पत्रकार महासंघका पूर्व अध्यक्ष महेशवर चामलिङ, सहयोगदाता सुबोध ठाकुरलगायतले सङ्गीत मानसिक शान्ति, उपचार पद्धति, योगा र ध्यानजस्ता धेरै सकारात्मक कुराहरु पाउने माध्यम भएको भन्दै राज्यले प्राथमिक्ता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । 


श्याम बस्नेतको अध्यक्षता र प्रशिक्षक खतिवडाको सञ्चालनमा सम्पनन कार्यक्रम अवधिभर विद्यालयका किशोर किशोरी विद्यार्थीहरुले बाद्यबादनको प्रयोग गर्दै शास्त्रीय तथा लोक आधुनिक गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।