१ हप्ता अघि
२0८१ चैत्र ६ बिहीबारउदयपुर, चैत ७
नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पनि देशमा राजाबाट देश विकास भएको इतिहास नभएको बताएका छन् । पार्टीको १ नं. प्रदेश समितिद्वारा बिहीबार गाईघाटमा आयोजित ‘अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम’को उद्घाटन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका सिटौललो यस्तो बताएका हुन् ।
सिटौलाले नेपालमा काँग्रेसकै सहयोगमा २ सय ४० वर्षसम्म राजतन्त्र टिकेको जिकिर गर्दै नेपालमा विकासको खाका कोर्ने तथा विकासको काम गर्ने काम सबै राजाले नभई काँग्रेसले गरेको बताए । उनले पूर्व–पश्चिम लोकमार्ग, भूमिसुधार कार्यक्रम, वन जङ्गल रास्ट्रियकरणजस्ता बिकासका कार्यक्रमको रुपरेखा बिपी प्रधानमन्त्री हँुदै कोरिएको बताए । तर, राजा महेन्द्रले बिपीलाई जेल हालेर ती विकासका कामहरु आफुले गरेको यश लिएको बताए ।
सिटौलाले राजतन्त्र काँग्रेसले नै टिकाएको दावी गर्दै राणाशासनविरुद्धको आन्दोलनमा भागेर भारत गएका तत्कालीन राजा त्रिभुवनलाई काँग्रेसले नै फर्काएर जय नेपाल भन्न सिकाएको पनि उनले बताए । यसरी नेपालमा राजतन्त्र बँचाएको स्मरण सिटौलाले गराए ।
‘राजा त्रिभुवन नेपालमा राणाविरोधी आन्दोलन उत्कर्षमा पुगेका बेला देश छाडेर भारत भागेका थिए’ सिटौलाले इतिहास सुनाए ‘बिपीले उनलाई फर्काएर नेपालमा राजतन्त्र टिकाएका हुन्, नत्र त्यतिबेलै सकिन्थ्यो ।’
काँग्रेसले सबै सुरक्षा र ओतप्रोत गरेर नेपालमा राजतन्त्र टिकाएका सुनाउँदै सिटौलाले तर, पछि उल्टै उनका छोरा महेन्द्रले यश जति आफु लिएर काँग्रेसमाथि प्रतिबन्ध लगाउदै जेल नेल र फाँसीको सजाएर सुनाउने गम्भीर धोका दिएको स्मरण गराए । राम्रो कामको सुरुवात सबै काँग्रेसले गरेको तर, यश चाहिँ महेन्द्रले लिदै जननिर्वाचित काँग्रेस नेतृत्वको सरकारलाई अपदस्थ गरेर जेलनेल हालेको इतिहास भुल्न नसकिने सिटौलाको भनाई थियो ।
०१५ सालको आम चुनावमा दुईतिहाई बहुमत ल्याएर प्रधानमन्त्री बनेका काँग्रेस सभापति बिपी प्रधानमन्त्रीत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले ०१७ साल पुस १ गते ‘कु’ मार्फत अपदस्थ गरी निरङ्कुश पञ्चायती व्यवस्था लादेको स्मरण गर्न पनि काँग्रेसजनलाई उनको आग्रह थियो । त्यसपछि फेरि काँग्रेसले अर्को ३० वर्ष सङ्घर्ष गरेर पञ्चायत ढालेको र ०५२–०६२ को १० वर्षे माओबादी जनयुद्ध र काँग्रेस–बामपन्थीको १९ दिने संयुक्त जन आन्दोलनले नेपालबाट एकात्मक राजतन्त्र बिदा गर्दै सङ्घीय गणतन्त्र ल्याएको बताए ।
नेपालमा राजतन्त्र फर्कने कुरा दिवास्वप्न मात्र भएको भन्दै उनले त्यसका लागि भईरहेका प्रयास निरर्थक हुने बताए । दुई–चारजना राजाबादीहरु सडकमा उफ्रदैमा राजतन्त्र आउने वा व्यवस्था परिवर्तन हुने कुरा असंभव भएको उनले बताए । उनको भनाई थियो ‘त्यति सजिलो हुने भए हजारौँ, लाखौँले किन ज्यानको बलिदानी गर्नु, किन वर्षौँवर्ष सङ्घर्ष र आन्दोलन गर्नु पर्थ्यो र ?’
प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य तथा क्षेत्रीय र प्रदेश पदाधिकारीको सहभागिता रहेको जनाइएको छ । सिटौलापछि पार्टीका अर्का नेता मीन विश्वकर्माले सहभागीलाई प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी जिल्ला कार्यसमितिले जनाएको छ ।