आगलागीबाट बँच्न प्रदेश प्रहरी कार्यालयको सचेतना

२ हप्ता अघि

२0८१ चैत्र ५ बुधबार
आगलागीबाट बँच्न  प्रदेश प्रहरी कार्यालयको सचेतना

उदयपुर, चैत ३

बुधबार मोरङको धनपालथान गाउँपालिका ७ मा आगलागीबाट ४ वर्षीया बालिकाको निधन भएको छ । घरको विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय अमित मियाँकी ४ वर्षीया छोरी रेश्मा खातुनको जलेर निधन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

 

बुधबार दिउँसो १२ः३० बजे भएको आगलागीबाट घरभित्र रहेकी बालिकाको निधन भएको हो । आगोले अमितको सहित छिमेकका १३ घर परिवारको फुसको छाना भएको १६ वटा घर र ३ वटा भान्सा घर जलेर नष्ट भएका छन् । त्यस्तै गाई बस्तुको गोठ पनि २ वटा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

 

भएको आखवर आएलगत्तै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी मोरङका एसपी नारायणप्रसाद चिमरियासहितको टोली खटेको थियो । नजिकका नगरपालिकाका ५ वटा दमकलको सहयोगमा स्थानीयबासी, प्रहरी र सशस्त्र प्रहरी बलले डेढघण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो । 

 

बुधबारै दिउँसो २ः४५ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका ७ का शरणकुमार राईको घरको विद्युत सट भएर लागेको आगोले छिमेकका सर्वधन राई र कालुमान राईकोसमेत ३ घर पूर्णरुपमा ध्वस्त भएको थियो । उनीहरुकोसँगै नजिकका थप ४ वटा घरमा आगोले आंशिक क्षति गरेको छ । 

 

शरणको ३० लाख बराबरको, सर्वधनको ५० लाख र कालुमानको ३५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । त्यसैगरी अन्य ४ घरको गरी १ करोड २२ लाख बराबरको क्षति भएको इप्रका प्रमुख इन्स्पेक्टर बबिन राईले बताएका छन् । आगो इलाका प्रहरी कार्यालय बेल्टारको टोली, सशस्त्र प्रहरी बल बेसक्याम्पका सशसत्र प्रहरी बल तथा स्थानीयबासी मिलेर ३ वटा दमकलको सहयोगमा साँझ ५ बजे नियन्त्रणमा लिइएको थियो ।

 

केहीदिनयता आगलागीका घट्ना व्यापक हुन थालेपछि प्रहरी र वन कार्यालयहरुले सचेत गराएका छन् । आगलागीबाट हुने क्षति रोक्न प्रदेश प्रहरी कार्यालय विराटनगरले सचेत गराएका हुन् । आगलागीका घट्ना अधिकांश मानवीय त्रुटि कमजोरीका कारणबाट नै हुने भएकाले यसबाट बँच्न पूर्व सतर्कता अपनाउनु नै प्रमुख महत्व हुने भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको छ । 

 

प्रहरीले आफ्ना बालबालिकाहरुलाई जथाभावी सलाई, लाईटरजस्ता आगोजन्य पदार्थ खेलाउन नदिने, खाना पकाई सकेपछि आगो राम्ररी निभाउने, ग्याँस प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । त्यसैगरी चुरोट विँडी खाएर ठुटा जथाभावी नफाल्ने, वन जङ्गलमा आगो लगाउँदा घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाउने, वनभोज खाएपछि होसियारी पूर्वक आगो निभाउन पनि प्रहरीले सुझाएको छ । 

 

धेरैजसो घरमा विद्युत सर्ट भएर आगलागी हुने गरेकाले विद्युत सट हुन नदिन गुणस्तरीय सामग्री प्रयोग गरी वाईरिङ गर्ने, गाई गोठमा मच्छड धपाउन आगो नबाल्ने, आगोलगायत प्रज्वलनशिल पदार्थको प्रयोग गर्दा सावधानी अपनाउने गरियो भने गाउँ बस्ती र सहरमा हुने आगलागीका घटनाबाट सुरक्षित हुन सकिने भन्दै प्रहरीले सचेत गराएको छ ।