३ हप्ता अघि
२0८१ फाल्गुन २७ मंगलवारमहेश्वर चामलिङ
लिमचुङबुङ, फागुन २७
२ दशकअघि आर्यघाटमा खरानी बनिसकेको निरङ्कुश राजतन्त्रको नलिहाड उधिन्न केही स्वार्थी तत्वहरु केहीदिनयता राजधानी केन्द्रित भएर काठमाडौँलाई प्रदुषित बनाईरहेका छन् । यता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै कारण सिंहदरवारको अधिकार गाउँगाउँमा आएपछि उजाड निर्जन भूमि तथा उराठ जनजीवन दिनदिनै हराभरा हुँदै गईरहेका छन् ।
तत्कालीन नेकपा (माओबादी)को १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको १९ दिने जन आन्दोनले अढाईसय वर्षदेखिको निरङकुश वंश परम्परागत राजतन्त्रको अन्त्य गर्दै सर्वसाधारणका छोराछोरी नै शासनसत्तामा पुगेर क्षमता देखाउन सक्ने व्यवस्थासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कतिपयले सोँच्दै नसोँचेको विकास निर्माण र परिवर्तनले गाउँहरु कायापलट हुँदैछन् ।
उन्नत र जनआधारित व्यवस्थाकै कारण राजतन्त्रकालमा दुबो उम्रन नसक्ने प्याङ्खर, उराठ र रुखो जमिनहरु, पाखा पखेरा, निर्जन र उजाड बगरहरु बजारमा परिणत भईरहेका छन् भने खानेपानी, विद्युत र सडकको कल्पनै नगरिएका पातला बस्तीहरु रातारात बजार बनेर रङ्गीचङ्गी सजिदैछन् । आवादी बाक्लिदैछ, उद्यम व्यवसाय, कृषि पशुपालन तथा फलफुल खेती दिनदिनै मौलाउँदैछ ।
हिजो १ पसेरी नुन, २ पाथी चामल, १ धरो कपडा र मरमसला किन्न ढाकरमा सातु सामल बोकेर ३–४ दिनको पैदल यात्रा हिड्दै जङ्गलको बास बस्दै बजार धाउनुपर्ने अवस्था अहिले १ घण्टाभित्र गाडी र मोटरसाईकल चढेर पुग्नसक्ने स्थितिमा बद्लिएको छ । स्थानीयको जीवनस्तर उक्सिदो छ, घरघरमा रोजगारी सिर्जना हँुदै गएको छ, मान्छेको चेतनास्तर र आय बृद्धि हुने क्रम जारी छ ।
राजतन्त्रकालमा गाउँमा कखरा पढ्ने स्कुलसम्म नहुँदा घण्टौँ टाढा पैदल हिडेर प्राथमिकतह पढ्नुपर्ने बाध्यता हामीले नै भोगेका हौँ । माध्यमिकतहको शिक्षा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता थियो भने उच्च शिक्षा आर्जन गर्नु पर्दा त राजधानी नपुगि धरै थिएन । गणतन्त्र आईसकेपछि त्यो बाध्यता हटेको छ । अहिले घरछेउमै खुलेका बाल विकास केन्द्र (इसिडी)मा बालबालिकाहरु खेल्दै, शैक्षिक सामग्रीसँग रम्दै पढ्न पाएका छन् । गाउँमै स्कुल÷क्याम्पस खुलेका छन्, उच्च शिक्षा पढ्न रहरले सहर छिर्नुबाहेक बाध्यात्मक अवस्था टरेको छ ।
राजतन्त्रकालमा सिंहदरवारमा मात्र खुम्च्याएर राखिएको रोजगार केन्द्र अहिले ७ सय ५३ वटै स्थानीयतह तथा ७ प्रदेशमा विकेन्द्रित भएका छन् । यसले पढालेखा, योग्य र सक्षम युवायुवति गाउँघरमै रोजगार बनेर सेवा गर्ने अवसर पाएका छन् । जन्म, मृत्यु, बिबाह, बसाईसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घट्ना दर्ताको काम वडावडामा हुने व्यवस्था छ । नागरिक्ता प्रमाणपत्र, राहदानी, मालपोत, जग्गा नापनक्शासम्मका सेवा लिन ढिलोमा ३ घण्टा यातायात दूरीमा सदरमुकाम गए समाधान हुन्छ । घर नजिकै सरकारी सेवासुविधा र राजनीतिक अधिकार पाएर सचेत हुने अवसर पाएका उर्जासिल युवायुवतिहरु गाउँघरमै उद्यम व्यवसाय गर्दै आआर्जन गरी आत्मनिर्भर हुँदै गएका छन् ।
यसै क्रममा पूर्वी नेपाल अन्तर्गत उदयपुर जिल्लाको बिकट पहाडी भेगमा पर्ने लिमचुङबुङ गाउँपालिका पछिल्लो ७ वर्षयता हराभरा हुदै गएको छ । भौगोकि कठिनाईको दाँजोमा १ नं. प्रदेशका १ सय ३७ मध्ये भौगोलिक दृष्टिकोणले पिछडिएका १० स्थानीयतहभित्र पर्ने लिमचुङबुङ विस्तारै आकर्षण थप्दै गईरहेको छ ।
उच्च र चिसो ठाउँ भएकाले जाडोले मानव बस्ती पातलो रहेको, रुखो जमिन भएकाले उत्पादन कम हुने प्याङ्खर जमिन रहेको साविक बाराहा गाविसको बाराहा गाउँ लिमचुङबुङ गाउँपालिका केन्द्र तोकिएसँगै हराभरा हुने क्रममा छ । कक्षा ७ सम्म पठनपाठन हुने एउटा तत्कालीन निम्न माध्यमिकतहको विद्यालय रहेको सानो पोखरीक्षेत्रबाहेक सबै ढुङ्गे पाखो र भिरालो जमिन भएको बाराहामा स्थानीयतह पुनर्संरचना हुनुअघिसम्म मोटामोटी १५–२० घरधुरी बसोबास (अधिकतर बसाई सरेर गईसकेको) थियो ।
स्थानीयतह पुनर्संरचना प्राविधिक समिति उदयपुरले ०७३ साल भदौमा साविक जाँते, बलम्ता, बाँसबोटे, तामलिछा र बाराहा गाविसलाई समायोजन गरी लिमचुङबुङ गाउँपालिका बनाएर बाराहालाई केन्द्र तोकेसँगै एकाएक सो निर्जन बस्तीको महत्व उकालिएको हो । एउटा डाँडापछि अर्को डाँडामा एउटा घर, बाँझो जमिन र फाट्टाफुट्ट मात्र मानव चलखेल देखिने बाराहामा केन्द्र घोषणा भएसँगै एकाएक घर, टहरा बाक्लो हुन थाल्यो, मान्छेको आवादी बाक्लिदै गयो ।
गाउँपालिका कार्यालय स्थापना भएपछि स्थानीयका झुप्रा घरहरु सबै भाडामा लागे, अपुग भवनका लागि नयाँ ब्लकहरु निर्माण हुदै गए । गाउँपालिकाकै विभिन्न शाखाहरु, स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, योजना, प्राविधिक, महिला विकासजस्ता युनिटहरु सञ्चालन गर्न बाँझो जमिनमा कच्ची तथा पक्की भवनहरु भटाभट बन्न थाले । स्वास्थ्यचौकी, इलाका प्रहरी कार्यालय नयाँ स्थापित भए । मानव जमघट बाक्लिदै गएपछि होटल, पसल खुलेर व्यापार व्यवसाय चलायमान भए । गाउँ छाडेर बसाई गएकाहरु पनि फर्केर गाउँमै रम्न थाले । आज भोलि भन्दाभन्दै बाराहा झकिझाकाउ बन्दै गएको छ ।
अहिले बाराहामा गाउँपालिकाको आलिसान प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा आईसकेको छ । अत्याधुनिक इलाका प्रहरी भवन सञ्चालनमा आएको १ वर्ष भईसक्यो भने ५ शैय्याको गाउँ अस्पताल भवन अन्तिम चरणमा पुगेको छ । प्रशासनिक भवन ५ करोड, अस्पताल साढे ४ करोड, प्रहरी कार्यालय अढाई करोडमा बनेका हुन् । लिमचुङबुङ सभाहल ३ करोड लागतमा निर्माणाधीन छ । भर्खरै लगभग सवाकरोड खर्चमा व्याडमिन्टन कभर्डंहल निर्माण सम्पन्न भएर उद्घाटन भयो ।
त्यो बेला कच्ची ब्लकमा सञ्चालित निमावि बाराहा हाल सुविधासम्पन्न ३ वटा अत्याधुनिक भवनसहित माध्यमिकतहमा स्तरोन्नति भईसकेको छ । गतवर्षसम्म वडा नं. ४ को बलम्तास्थित क्याप्टेन पर्शुराम माविमा गाउँपालिकाभरीका विद्यार्थीलाई एसईई परीक्षा दिने सेन्टर चालुवर्षदेखि मावि बाराहामा स्थानान्तरण गरिएको छ ।
सरकारी कार्यालय मात्र कहाँ हो र ? व्यक्तिगत पक्की घरहरु पनि धमाधम बन्दैछन् । खर र फुसका छाना भएका कच्ची झुप्रा घरहरु स्तरोन्नतिसहित जस्तापाताका छानाले सजिएका छन् । खानेपानी घरघरमा पुगेको छ, विजुली बत्तीले पुरै गाउँ उज्यालिएको छ । कृषि बजार, होटल, पसल सबै चलायमान छन् । समग्रमा भन्नु पर्दा उराठलाग्दो गाउँ आकर्षक र बसुँबसुँ भईसकेको छ ।
गाउँपालिकाले युवाहरुलाई गाउँघरमै स्थीर राख्न कृषि परियोजना सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष मेजरकुमार राईले अघिल्लो कार्यकालमै कृषिबाटै आयआर्जन गर्नसक्ने, स्वरोजगार बनाउँदै घरैमा बसेर आत्मनिर्भर बनाउने उदेश्यका साथ ‘अध्यक्ष कृषि परियोजना’ लागू गरेका थिए । गाउँपालिकाको मल बिउ र प्राविधिक सहयोग अनुदान तथा कृषकहरुको मेहनेत लागत सहभागितामा सञ्चालित परियोजनाले अग्र्यानिक तरकारी, फलफुल, बाख्रा, भैँसीजस्ता पशु चौपाया र कुखुरा पालनमा स्थानीयलाई आकर्षण दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले स्थानीयतह पुनर्संंचनाले गाउँघरमा धेरै संभावनाको ढोका खोलेको बताए । उनका अनुसार आधारभूत आवशयक्ता मात्र पुरा ग र्न सके मान्छे गाउँमै बस्न रुचाउँछन् । स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत र सडक भएपछि स्वच्छ वातावरण र मिजासिलो समाज रहेको गाउँ सहरभन्दा धेरै गुणा राम्रो हुने हाकिम राईको बुझाई छ ।
गुणस्तरीय शिक्षा, विरामी हुँदा उपचार पाउने स्वास्थ्य सेवा, उपभोग्य बस्तुको उपलब्धता, उद्यम व्यवसाय गर्ने ठाउँ, कृषि उत्पादन गर्ने खेती र रोजगारीको व्यवस्था भएमा सहरको दाँजोमा गाउँ हजारौँ गुणा आकर्षक लाग्ने हाकिम राईले बताए । गाउँपालिका केन्द्र बनेपछि विद्यालय, अस्पताल, विद्युत, खानेपानी र सडकको पहुँच विस्तार भएसँगै युवा पुस्ता गाउँमै रमाउन थालेको स्थानीय बताउँछन् ।