१ महिना अघि
२0८१ फाल्गुन १७ शनिबारकटारी, फागुन १७
कटारी नगरपालिकाद्वारा आयोजित ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता ८१’को उपाधि च्याम्पियन ब्वाईज काठमाडौँले कब्जा गरेको छ । शनिबार सम्पन्न फाईनलमा सहलेश युथ क्लब सिराहालाई २–१ गोलको अन्तरले हराउँदैै च्याम्पिएन उपाधि हात पार्न सफल भएको हो ।
मध्यान्तरअघि गोलरहित बराबरीमा टुङ्गिएको खेलमा मध्यान्तरपछि दुवै टिम गोल गर्न सफल भए । खेल सुरु भएलगत्तै सहलेशका खेलाडी कुलदिप कार्कीले पहिलो गोल गर्दै टिमलाई अघि बढाए । उनले गोल गरेललगत्तै च्याम्पिएनका लागि सन्तोष न्यौपानेको प्रहार गोलमा परिणत भएर खेल बराबर भयो ।
खेलको अन्तिम चरणमा च्याम्पिएनका अर्का खेलाडी हेमन लिम्बुको प्रहार गोलमा परिणत भएसँगै काठमाडौँ उपाधि हात पार्न सफल भएको हो । फाईनल खेलको ‘म्यान अफ द म्याच’ उनै लिम्बु घोषित भएर ३ हजार नगद तथा ट्रफी र प्रमाणपत्र पाए ।
विजेता च्याम्पिएनलाई ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइयो भने उपविजेता सहलेशले नगद १ लाख ५१ हजारसहित मेडल र प्रमाणपत्र पायो । समापन कार्यक्रममा कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा विधागत पुरस्कार त्निे खेलाडीलाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । ‘उदयमान खेलाडी’को उपाधि आयोजक कटारी ११ का ऋतिक तामाङले पाए भने ‘उत्कृष्ट डिफेन्डर’ च्याम्पिएनका धिरेन क्षेत्री, ‘उत्कृष्ट गोलरक्षक’ च्याम्पिएनकै चरी लिम्बु तथा प्रतियोगिताभरी ५ गोल गर्ने सौर्य राउत ‘सर्वाधिक गोलकर्ता’ ठहरिए भने सहलेशका शिसिर लेखी ‘उत्कृष्ट खेलाडी’ भए ।
कटारीको टाईगर खेल मैदानमा गत १० गतेदेखि भईरहेको प्रतियोगितामा अन्तराष्ट्रिय टिमतर्फ भुटानको सामत्से फुटबल क्लवसहित विभिन्न ८ टिमले भाग लिएका थिए । नगरपालिकाले वर्षेनी गर्दै आएको प्रतियोगिताको यो सँस्करण विगतमा वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रायोजनमा गरिएको हो ।