कटारी गोल्डकपको उपाधिका लागि च्याम्पिएन र सहलेश भिड्दै 

१ महिना अघि

२0८१ फाल्गुन १५ बिहीबार
कटारी गोल्डकपको उपाधिका लागि च्याम्पिएन र सहलेश भिड्दै 

कटारी, फागुन १५

शनिबार हुने ‘पाँचौ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता ०८१’को उपाधिका लागि च्याम्पिएन ब्वाईज काठमाडौँ र सहलेश फुटबल क्लब सिराहाबीच भिडन्त हुने भएको छ । बिहीबारको अन्तिम सेमिफाईनलमा युनाईटेड क्लब वीरगञ्जलाई ३–० गोलले हराउँदै उपाधिका लागि च्याम्पिएनलाई चुनौति दिन सहलेश योग्य बनेको हो । 


सहलेशका लागि दुई विदेशी खेलाडीले मध्यान्तरअघि नै ३ गोल गरेका थिए । अफ्रिकन खेलाडी अबय यामी एक्लैले २ गोल गरे भने अर्का आर्मन बेदरले १ गोल गरेर टिमलाई उपाधिको दावेदार बनाएका हुन् । खेल सुरु भएको ३६ औँ ण्मनटमा यामीले पहिलो गोल गरेर टिमलाई अगाडि बढाएकोमा त्यसलगत्तै ३७ औँ मिनटमा उनकै प्रहार गोलमा परिणत भएको थियो । 


त्यसैगरी ४० औँ मिनटमा बेदरको प्रहारले जाली चुम्दै सहलेशका लागि थप गोल हुन पुग्यो । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसक्नुले सहलेशलाई फाईनल पुग्न अझ बढी सहज भयो । खेलको म्यान अफ द म्याच यामी नै घोषित भए । उनलाई कटारी नगरपालिका ७ का वडाध्यक्ष सुबिन ढुङ्गानाले ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे । 


शनिबार टाईगर खेलमैदानमै हुने फाईनलमा विजेता टिमले ३ लाख नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई डेढलाख नगद र प्रमाणपत्र प्रदान गरिने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले बताए ।

 

कटारी नगरपालिकाको प्रायोजनमा नगर खेलकुद समितिद्वारा आयोजित प्रतियोगितामा विभिन्न विधागत विजेता खेलाडीलाई जनही ५ हजार नगद र प्रमाणपत्र दिइने कार्यक्रम रहेको अध्यक्ष राईले बताएका छन् ।