कटारी मेयर गोल्डकप: च्याम्पिएन ब्वाईज फाईनलमा

१ महिना अघि

२0८१ फाल्गुन १४ बुधबार
कटारी मेयर गोल्डकप: च्याम्पिएन ब्वाईज फाईनलमा

कटारी, फागुन १४

च्याम्पिएन ब्वाईज क्लब काठमार्डौँ कटारीमा जारी ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता ०८१’को फाइनलमा पुगेको छ । बुधबारको पहिलो सेमिफाईनलमा धरानको एसएन क्लबलाई ४–२ गोलले पराजित गर्दै च्याम्पिएन ब्जाईज फाईनलमा प्रवेश गरेको हो । 


कटारीको टाईगर खेल मैदानमा भईरहेको प्रतियोगितामा च्याम्पिएनका लागि सुरज राउत एक्लैले ३ गोल गरेका थिए भने सन्तोष न्यौपानेले १ गोल थपेका थिए । खेल सुरु भएको १३ औँ मिनटमै धरानका तपन कार्कीले पहिलो गोल गरेर समूहलाई अघि बढाए पनि ३० औँ मिनटमा च्याम्पिएनका लागि राउतले जवाफी गोल फर्काएर खेल बराबरी बनाए । 


खेलको ३४ औँ मिनटमा राउतले नै अर्को  गोल गर्दै च्याम्पिएनका लागि दोहोरो जित बनाएकोमा ४५ औ मिनटमा धरानका लागि फेरि कार्कीले अर्को गोल थपेर खेल  बराबरी बनाए । मध्यान्तरपछि ७७ औँ मिनटमा सन्तोष न्यौपानेले १ गोल थप्दा च्याम्पिएन ३ गोलसहति अघि बढ्यो भने ८४ औँ मिनटमा पुनः राउतकै प्रहार चौथो गोलमा परिणत भएर फाईनलको यात्रा तय भएको हो । 


बुधबारको खेलमा च्याम्पिएनकै खेलाडी राउत म्यान अफ द म्याच घोषित भए । उनलाई कटारी ६ का वडाध्यक्ष प्रेमबहादुर मगरले ३ हजार नगद तथा प्रमाणपत्र पुरस्कार दिए । 


बिहीबार हुने अन्तिम सेमिफाईनलमा सिराहाको सहलेश फुटबल क्लब र वीरगञ्जको युनाईटेड फुटबल क्लबबीच भिडन्त हुने आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले बताएका छन् । 


कटारी नगरपालिकाको प्रायोजन र नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल १७ गते शनिबार हुनेछ । विजेता टिमलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका उपविजेताले १ लाख ५० हजार नगद तथा विधागत खेलाडीलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताएका छन् ।