१ महिना अघि
२0८१ फाल्गुन १३ मंगलवारकटारी, फागुन १३
कटारीमा जारी ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता ०८१’को मङ्गलबारको खेलमा सर्लाहीको बागमती क्लब आत्मघाती गोलका कारण स्तब्ध भएको छ । सिराहाको सहलेश फुटबल क्लबसँग भिडन्तमा उत्रेको बागमती खेल सुरु भएको १० औँ मिनटमभै आत्मघाती गोल भएप्छि पराजित हुन पुग्यो ।
खेल अवधिभर सहलेशलाई गोल गर्नबाट रोक्न सफल हुँदै अन्तिम समयमा एक गोल गर्न सके पनि बराबर भएकाले टाईब्रेकरमा बागमतीले हार बेहोर्नु परेको हो । खेल सुरु भएको १० औँ मिनटमै बागमतिका खेलाडीहरुले विपक्षीसँग बल खोसाखोस गर्ने क्रममा आफ्नै घुँडामा ठोकिएर आत्मघाती गोल हुन पुगेको थियो ।
त्यसपछिको खेलमा अन्तिम समयमा बागमतीका अनिल पाचे मगरले १ गोल गर्न सफल भए पनि खेल बराबरी भएपछि नतिजा निकाल्न टाईब्रेकरमा प्रतिस्प्र्धा हुँदा ५–४ गोलले सहलेश विजयी भयो । खेलको म्यान अफ द म्याच सहलेशकै गोलकिपर सागर मगर घोषित भए । उनलाई कटारी नगरपालिका ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङले नगद ३ हजार र प्रमाणपत्र प्रदान गरे ।
आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईका अनुसार अरुकै गोलको भाग्यले सेमिफाईनलमा पुगेको सहलेशले बिहीबारको अन्तिम सेमिफाईनलमा वीरगञ्ज युनाईटेडसँग भिड्नु पर्नेछ । युनाईटेड अघिल्लो दिनको खेलमा सिन्धुलीको जेएन क्लबलाई हराएर सेमिफाईनलको हकदार भएको हो ।
बुधबार हुने पहिलो सेमिफाईनलमा भने काठमाडौँको च्याम्पिएन ब्वाईज क्लब र एनएस फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पिएन ब्वाईज अघिल्लो दिनको खेलमा पाहुना टिम भुटानको समत्से क्लबलाई हराएको थियो भने धरानले उद्घाटन खेलमा घरेलु टिम कटारी ११ लाई पराजित गरेको थियो ।
१७ गते शनिबार फाईनल स्पर्धा हुने प्रतियोगिताको विजेता टिमलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेताले १ लाख ५० हजार तथा विधागत खेलाडीलाई जनही ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।