कटारी गोल्डकपमा काठमाडौँद्वारा भुटान पराजित 

१ महिना अघि

२0८१ फाल्गुन १२ सोमबार
कटारी गोल्डकपमा काठमाडौँद्वारा भुटान पराजित 

कटारी, फागुन १२

कटारीमा जारी ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता ०८१’को सोमबारको खेलमा पाहुना टिम भुटान पराजित भएको छ । प्रतियोगिताको तेस्रो दिनको खेलमा च्याम्पिएन ब्वाईज काठमाडौँले भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 


च्याम्पिएनका लागि सुरज राउत एक्लैले २ गोल गरे भने अर्का खेलाडी उमेश ढुङ्गानाको १ गोल भयो । भुटानका लागि आयुस डुक्पाले छैठौँ मिनटमै गोलको खाता खोले पनि जित हात पार्न नसक्दा पाहुना टिमले मैदान छाड्न बाध्य हुनु पर्यो । 


खेल सुरु भएको छैठौँ मिनटमै डुक्पाले पहिलो गोल गरेर आफ्नो टिमलाई अघि बढाएका थिए । तर, लगत्तै १ मिनटमै च्याम्पिएनका खेलाडी उमेश ढुङ्गानाले गोल गरेर खेललाई बराबरी बनाए । त्यसपछि २३ औँ मिनटमा च्याम्पिएनका लागि दुईगोल बनाएका सुरज राउतले २८ औँ मिनटमा अर्को गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए । 


बाँकी समय दुवै टिमबाट गोलरहित सकिएसँगै भुटानमाथि च्याम्पिएन टिम हावी भयो भने भुटान स्तब्ध हुन पुग्यो । सोमबारको खेलमा म्यान अफ द म्याच च्याम्पिएनकै सुरज राउत घोषित भए । उनलाई कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले नगद ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरे । 


मङ्गलबारको खेलमा सर्लाहीको बागमती फुटबल क्लब र सिराहाको सहलेश फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलसँगै पहिलोचरण समाप्त भएर फागुन १४ देखि सेमिफाईनल खेल सुरु हुने छ भने  १७ गते फाईनल हुने आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले बताए । 


भुटानलाई हराएसँगै च्याम्पिएन सेमिफाईनलमा प्रवेश पाएको छ । ऊसँगै यसअघि विजयी टिमहरु पर्साको वीरगञ्ज युनाईटेड फुटबल क्लब तथा एनएसएफ क्लब धरान पनि सेफिमाईनलमा पुगिसकेका छन् । युनाईटेडले सिन्धुली एनजेलाई र एनएफएसले घरेलु टिम कटारी ११ लाई पराजित गर्दै सेमिफाईनलमा पुगेका हुन् । 


कटारी नगरको प्रायोजन तथा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता कटारीस्थित टाईगर खेल मैदानमा भईरहेको छ । उपाधि विजेता टिमलाई पुरस्कारवापत ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र दिइनेछ भने उपविजेतालाई १ लाख ५० हजार नगद तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले बताए । त्यसैग्री विधागत उपाधितर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई जनही ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको अध्यक्ष राईले बताएका छन् ।