१ महिना अघि
२0८१ फाल्गुन १0 शनिबारमुर्कुची, फागुन १०
रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित रौता नमूना माध्यमिक विद्यालय मुर्कुचीले एकैचोटी ३ कार्यक्रम आयोजना गरेको छ । विद्यालय प्राङ्गणमा गाउँपालिकास्तरीय ‘रौतामाई शैक्षिक सम्मेलन २०८१’ शनिबारदेखि सुरु भएको छ भने शुक्रबारदेखि विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा २१ औँ अविभावक दिवस पनि सँगै आयोजना गरिएको छ ।
त्यसैगरी खाना महोत्सव (फुड फेस्टीबल) तथा गाउँपालिकाको ‘छैठौँ अन्तरविद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आयोजना गरिएको छ । कार्यक्रमलाई बहुआयामिक र अर्थपूर्ण बनाउन सोही अवसर पारेर यी कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरुेन्द्र मगरले बताए ।
‘शैक्षिक गुणस्तरमा सुधार, रौतामाईको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय सिटीहलमा सम्मेलन सुरु भएको हो । गाउँपालिकाको आयोजना र रौता नमूना माध्यमिक विद्यालय मुर्कुचीको व्यवस्थापनमा सुरु सम्मेलन २ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । गापाका सबै वडामा सञ्चालित विद्यालयहरुको शैक्षिक समस्या पहिचान गरी समाधानको उपाय खुट्याउने उदेश्यले शैक्षिक सम्मेलन आयोजना गरिएको नमूना माविका प्रधानाध्यापक खड्गबहादुर थापा मगरले बताए ।
प्रअ मगरका अनुसार सम्मेलनमा गाउँपालिकाभरीका सामुदायिक विद्यालय र जिल्लाका अगुवा विद्यालयहरु आमन्त्रितका रुपमा सहभागी छन् । विद्यालयहरुले आआफ्नो वडागत समस्या प्रस्तुत गर्ने र समाधान गर्न विज्ञहरुबाट सल्लाह सुझाव लिने कार्यक्रम छ ।
हरेक वर्ष सञ्चालन गरिदै आउको प्रतियोगितामा गाउँपालिकाभरीका सामुदायिक तथा सँस्थागत विद्यालयहरुको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बताए ।
अविभावक दिवस अन्तर्गत आईतबार विद्यालयको गतविगत वर्षको शैक्षिक, प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, रक्तदान, साँस्कृतिक कार्यक्रम र विद्यालयलाई योगदान गर्नेहरुलाई सम्मान र पुरस्कार वितरण कार्यक्रम छ । सोही अवसरमा विद्यालयको भावी शैक्षिक योजना तथा अनुमानित आयव्यय (बजेट) पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रअ मगरले बताएका छन् ।