१ महिना अघि
२0८१ फाल्गुन ५ सोमबारखोटाङ, फागुन ५
त्रिधार्मिकस्थल हलेसीमा आईतबार साँझको आगलागी पीडितलाई तत्काल १० लाख राहत जुटेको छ । हलेसी तुवाचुङ नगरपालिकाले पीीडतहरुलाई तत्काल राहत वितरण गर्न जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको तलव भत्ता र सेवा सुविधावापतको रकम कटाएर सो परिमाणको राहत जुटाएको हो ।
सोमबार विहान बसेको आपतकालीन नगरकार्यपािलका बैठकले नगरपालिकाको ७ नं. वडास्थित हलेसी बजारमा भएको आगलागी पीडितलाई राहत दिने निर्णय गरेको नगरप्रमुख बिमला राईले बताईन् । उनका अनुसार पीडितहरुलाई तत्कालीन राहत दिन सबै जनप्रतिनिधि र निजामति कर्मचारीको २ दिन बराबरको सेवा सुविधा र तलब तथा शिक्षक र करार कर्मचारीको १ दिन बराबरको तलबबाट सो राहत जुटाइएको हो ।
आगलागी पीीडतलाई तत्काल राहत वितरण गर्न १० लाख जुटाउन यस्तो निर्णय गरेको र सोमबारै नगर विपत व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिसकेको नगर प्रवक्ता तथा ७ नं. वडाध्यक्ष कमल गिरीले बताए । ‘यो तत्कालीन राहत हो, यसपछि अन्य तरिकाबाट थप राहत व्यवस्थापन गर्नेतर्फ पनि हामी लाग्ने छौँ’ गिरीले भने ।
कार्यपालिका बेठकले थप राहतका लागि सम्बन्धित निकायहरुमा पत्राचार र सिफारिस गर्ने काम पनि नगरपालिकाले सुरु गरिसकेको गिरीले बताए ।
हलेसी मन्दिरनजिकै पदमशेर राईले सञ्चालन गरेको पुजा हार्डवेयरबाट ग्यास लिक भएर उब्जेको आगोले उनकोसँगै अन्य ३ परिवारको ५ घरमा क्षति पुर्गेको छ । आगलागीबाट ७ करोड ३० लाखको नोक्सानी भएको खोटाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतिक विष्टका अनुसार आगोले राईको काठ र टिनको छानोवाला घरमा रहेको हार्डवेयर सामग्री, फर्निचर, साढे ३ लाख नगद र सोही घरमा रहेको निर्धन लघुवित्त विकास बैँकको सम्पूर्ण कागजात र नगदसमेत नष्ट भएको छ ।
अर्का स्थानीय ऐराख राईको न्यु कल्याण होटल तथा लज रहेको साढे ३ तले घरका सबै फर्निचर, लुगाफाटा र अन्य सामग्री जलेर २ करोड ५० लाख बरबरको क्षति भएको छ । त्यसैगरी भरणसेर राईको पारुहाङ होटेल भएको काठको कच्ची घर र पछाडिपटिको अर्को ४ तले पक्की घरसहित ५० लाख बराबर नोक्सान पुगेको छ । प्रकाशचन्द्र गिरीको फलामे ट्रस प्रविधिको घरमा सञ्चालित हलेसी दर्शन होटल ध्वस्त हुँदा ३० लाखको क्षति पुगेको डिएसपी विष्टले बताए ।
साँझ ७ः३० बजेजस्तो समयमा उब्जेको आगो सदरमुकामबाट खटाइएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनप्रतिनिधि तथा स्थानीयहरु मिलेर अढाई घण्टामा निभाइएको थियो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सुरक्षाकर्मी, स्थानीयबासी र जनप्रतिनिधिको साझा प्रयासमा ढिलै भए पनि आगो नियन्त्रणमा ल्याउन सफल भएर मानवीय क्षति भने हुन नपाएको बताए ।
जिल्लामा दमकल नहुँदा आगो निभाउन निकै कठिनाई भएको पनि सिडिओ कार्कीले बताए । खोटाङका सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ गरी २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीयतह कुनैमा पनि अहिलेसम्म दमकल नभएकाले आगलागी हुँदा समस्या पर्ने गरेको छ । जिल्लामा दमकल नभएका कारण आगो निभाउन नजिक पर्ने ओखलढुङ्गाको दमकल बोलाइएकोमा चालक नभएको भन्दै नआएपछि उदयपुरको कटारीबाट बोलाइएको थियो । तर, लामो दूरी र रातिको समय भएकाले आईपुग्न ढिला भए पनि सामुहिक प्रयासले आगो नियन्त्रण गर्न सफल भएको स्थानीयको भनाई छ ।
वडाध्यक्ष गिरीले पुजा हार्डवेयर हलेसी बजारकै सबभन्दा ठूलो कारोबार गर्ने हार्डवेयर पसल आगोले ध्वस्त पारेको बताए । तर, समयमै सबैको सहयोग जुटेकाले आगो नियन्त्रण गर्न सफल भएकाले हलेसी अकल्पनीय क्षति हुनबाट बँचेको उनले बताए । समसाँझै घट्ना भएकाले धेरै मान्छे सुतिसकेको नभएर मानवीय क्षति हुन नपाएको उनले बताए ।
‘साँझमै घट्ना भएर मान्छे सुतिसकेका थिएनन् र धन्न भौतिक क्षति मात्र भयो’ उनले भने ‘केही बेरपछि भए मान्छे सबै सुतिसकेका हुन्थे, कति धेरै मानवीय र भौतिक क्षति हुन्थ्यो, त्यो कल्पनै गर्न सकिन्न ।’