त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगाः प्रचण्ड

१ महिना अघि

२0८१ फाल्गुन २ शुक्रबार
त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगाः प्रचण्ड

काठमाडौं, फागुन २

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको ‘त्रिदेशीय विद्युत ब्यापार सम्झौता’ नेपालका लागि कोशेढुंगा भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग शुक्रबार भएको भेटमा उनले यस्तो बताएका हुन् । 


अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गरेका थिए । ‘भारत र बंगलादेशसँग मैले धेरै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’ उनले भने  ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेशलगायत देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’


 
भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्नेमा अहिलेको सरकारले विद्युतको विकासभन्दा भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनको छ । 


 
इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्दै उनले आफूले सरकारमा हुँदा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरी अध्यादेश ल्याएका ल्याए पनि अदालतले रोक्दा थप लविङ गर्नुपर्ने अवस्था रहेको बताए । 


इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्वपूर्ण रहेको औल्याउँदै उनको पालामा त्रिदेशीय विद्युत ब्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएकोमा प्रशंसा गरे । 


उर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिंदै अध्यक्ष कार्कीले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सहजीकरण गरिदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।