१ महिना अघि
२0८१ माघ २५ शुक्रबारगाईघाट, पुस २५
नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाडिङ संघ उदयपुर गठन भएको छ । गाईघाटस्थित होटल टाउनहलमा शुक्रबार आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मार्फत सङ्घ गठन भएको जानकारी दिइएको हो ।
नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा घोषणा गरिए अनुसार ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । निर्वाचन समिति संयोजक जिवनी बान्तवाका अनुसार जिल्लामा कार्यरत प्याराग्लाईडिङ व्यवसायीहरुको बिहीबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा बेलका नगरपालिकाका सुजन राई चयन भएका छन् भने सचिव गाईघाटका जितेन्द्र राईला छानिएका छन् । त्यसैगरी सहसचिव चौदण्डीगढी नगरपालिकाकी शिला राई चयन हुँदा कोषाध्यक्षमा गाईघाटकी सुनिता रेग्मी राई छानिएको निर्वाचन समितिले जनाएको छ ।
समितिमा भुपाल राउत (गाईघाट), करिना राई (उदयपुरगढी), ईश्वर मगर (रौतामाई), सन्तोष कार्की (कटारी) र अमिन राई (लिमचुङबुङ) सदस्य चयन भएका छन् । जिल्लाका ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व गराउने उदेश्यले गठित समितिमा बाँकी सदस्यहरु आवश्यक्ता र आकाङ्क्षाका आधारमा जिल्ला समितिको निर्णय अनुसार थप्दै लाने नवनिर्वाचित अध्यक्ष साम्पाङले बताएका छन् ।
जिल्लाको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले प्याराग्लाईडिङ व्यवसायीहरुलाई एकत्रित गर्दै लाने उदेश्यले गठित समितिले तत्कालै काम थालिहाल्ने जनाएको छ । पर्यटनको एउटा महत्वपूर्ण पाटो प्याराग्लाईडिङ पनि भएकाले यसको व्यवसायिक विकास र प्रबद्र्धन गर्न समिति अघि बढ्ने अध्यक्ष साम्पाङले बताए ।
प्याराग्लाईडिङ व्यवसायमा राम्रो संभावना बोकेको जिल्ला उदयपुरका सदरमुकाम त्रियुगा नगरपालिका १४ स्थित चप्पन डाँडाबाट गाईघाट बजार अबलोकन गर्ने परीक्षण उडान २ वर्षअघि नै सफल भईसकेको छ । त्यस्तै रौतामाई गाउँपालिका ६ को रौतापोखरी र १ को माझखर्क र डहरक्षेत्रमा पनि ५ वर्षअघि नै परीक्षण सफल भईसकेको छ । उता बेलका नगरपालिका ८ को बोक्ताङमा परीक्षण सफल भएर पनि प्याराग्लाईडिङको प्रक्षिक्षणसमेत भईसकेको समितिले जनाएको छ ।
जिल्लाका लिमचुङबुङ गाउँपालिका ३ स्थित एभरेष्ट भ्युटावर, ताप्ली गाउँपालिका ३ स्थित ताप्ली पोखरी, चौदण्डीगढी नगरपालिका १ को चौदण्डीगढी दरवारक्षेत्र र कटारी नगरपालिका ११ को बेतिनी डाँडा पनि प्याराग्लाईडिङ व्यवसायको उत्तिकै ठूलो संभावना बोकेका ठाउँहरु हुन् । परीक्षण सफल भईसकेका ठाउँमा व्यवसायिक उडान भर्न थाल्ने तथा संभावित ठाउँमा परीक्षण कार्य अघि बढाउने तयारी सङ्घले गर्ने अध्यक्ष साम्पाङले बताएका छन् ।