उदयपुरमा २ दिनमा ६,८७१ छात्रालाई ‘एचपिभी खोप’ 

१ महिना अघि

२0८१ माघ २४ बिहीबार
उदयपुरमा २ दिनमा ६,८७१ छात्रालाई ‘एचपिभी खोप’ 

उदयपुर, माघ २४

महिलाहरुको पाठेघर (बच्चादानी)को मुखको क्यान्सरबाट बचाउँने ह्युमन प्यालोमा भाईरस (एचपिभी)विरुद्धको खोप उदयपुरमा २ दिनमा झण्डै ७ हजार छात्रालाई दिइएको छ । बुधबारदेखि सुरु खोप अभियान बिहीबारसम्म जिल्लाका ४ स्थानीयतहमा ६ हजार ८ सय ७१ ले पाएका छन् । पहिलो चरणको खोप त्रियुगा र बेलका नगरपालिका तथा रौतामाई र लिमचुङबुङ गाउँपालिकामा सञ्चालन गरिएको छ । 


४ स्थानीयतहमध्ये लिमचुङबुङमा २ दिने अभियान सकिएको र त्यहाँ लक्ष्यको ८४.७१ प्रतिशत छात्राले मात्र खोप पाएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार लिमचुङबुङमा विभिन्न १३ वटा विद्यालयमा कक्षा ६ का १ सय १ जना तथा ७ देखि १० कक्षा पढ्ने ३ सय ४५ छात्रा तथा विद्यालयबाहिरका ९० जना गरी ५ सय ३६ छात्रालाई खोप दिने लक्ष्य थियो । 

 
यता त्रियुगामा २ दिनको अवधिमा ३ हजार ८ सय ८२ छात्राले खोप पाएका छन् । त्रियुगामा ७१ विद्यालयमा कक्षा ६ का १ हजार १ सय ३०, कक्षा ७ देखि १० सम्मका ४ हजार २ सय २० तथा विद्यालयबाहिरका १ हजार २१ समेत गरी ६ हजार ३ सय ७१ जना छात्रा तथा बालिकालाई खोप दिने लक्ष्य लिइएको छ । त्रियुगामा भोलिसम्म खोप अभियान चल्नेछ । 


त्यसैगरी २ दिनको अवधिमा बेलका नगरपालिकाका १ हजार ६ सय ८९ जनालाई खोप लिइएको छ । बेलकामा ४० विद्यालयका कक्षा ६ का ५ सय ७, कक्षा ७ देखि १० सम्मका १ हजार ८ सय ६९ र विद्यालयबाहिरका ४ सय ३५ गरी २ हजार ८ सय ११ छात्रा खोपबाट लाभान्वित हुने लक्ष्य स्वास्थ्य कार्यालयले राखेको छ । 


रौतामाई गाउँपालिकामा २ दिनमा ८ सय ४६ ले खोप पाएका छन् । २८ विद्यालयका कक्षा ६ का २ सय १८, कक्षा ७–१० का ७ सय ७१ विद्यालयबाहिरका १ सय ९८ गरी रौतामाईमा जम्मा १ हजार १ सय ८७ जना छात्रालाई खोप दिने लक्ष्य छ । रौतामाई र बेलकामा पनि २५ गतेसम्म खोप अभियान चल्नेछ । 


स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाका अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहमा २ चरणमा खोप दिने तालिका छ । २३ देखि २५ सम्म पहिलो चरण र २८ देखि फागुन २ गतेसम्म दोस्रो चरणमा खोप दिइनेछ । ८ वटै स्थानीयतहमा गरी कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिरका बालिकासमेत २० हजार १ सय २२ जना छात्रा एचपिभी खोपबाट लाभान्वित हुने लक्ष्य छ । 


अन्य स्थानीयतहहरु कटारी र चौदण्डीगढी नगरपालिका तथा उदयपुरगढी र ताप्ली गाउँपालिकामा २८ गतेदेखि अभियान सुरु हुनेछ । दोस्रो चरणको अभियान कटारीमा फागुन २ गतेसम्म, चौदण्डीगढी नगर र उदयपुगढीमा १ गतेसम्म तथा ताप्ली गाउँपालिकामा ३० गतेसम्म खोप दिइनेछ ।
 

उदयपुरमा कक्षा ६ मा ३ हजार ६ सय ९ जना छात्रा पढ्दैछन् भने ७ देखि १० कक्षाका १३ हजार ४६ जना रहेका छन् । विद्यालयबाहिरका बालिकाहरु १० वर्षसम्म उमेरका २ सय २ जना र ११ देखि १४ वर्ष उमेरका ३ हजार २ सय ६५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई पनि खोप दिलाउने लक्ष्य कार्यालयले लिएको छ ।