१ महिना अघि
२0८१ माघ २४ बिहीबारखोटाङ, पुस १४
यहाँको किरात ऐतिहासिकस्थल केपिलासगढीलाई गाउँपालिकाले संरक्षण गर्न थालेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा काजी अमरसिंह थापा नेतृत्वको सैन्य टोली पठाएर छलकपटपूर्वक कब्जा गरेको इतिहास भेटिएको केपिलासगढीमा संवत १८३० सालसम्म किराती राजा निगुहाङले शासन गरेको प्रमाण भेटिएको छ ।
जिल्लाकै ऐतिहासिक, पुरातात्विक तथा अथाह पर्यटकीय संभावना बोकेको गढीलाई संरक्षण गर्दै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिका योजनाबद्धरुपमा लागेको जनाएको छ । त्यसको सुरुवात गाउँकार्यपालिकाको पछिल्लो बैठक भर्खरै केपिलाशगढी दरवारक्षेत्रमा बसेको छ । गाउँपालिका केन्द्र बाक्शीलाको सुविधासम्पन्न सभाहल छाडेर यसपटक गढीको खुल्ला चौरमा बैठक बसेको र आगामी दिनका नियमित बैठक त्यहीँ बस्ने निर्णयसमेत भएको गाउँपालिका अध्यक्ष समीर राईले बताए ।
केपिलासगढीको विषयमा धेरैजसो जनप्रतिनिधि अनजान रहेकाले पनि ठाउँ देखाउँदै संरक्षण, संबद्र्धन तथा पर्यटन प्रबद्र्धन सुरुवातस्वरुप पहिलोपटक बैठक राखिएको उनले बताए । ‘यो ठाउँ अत्यन्त ऐतिहासिक, पुरातान्विक तथा सामरिक महत्वको छ, खासगरी किरात ऐतिहासिक’ अध्यक्ष राईले भने ‘त्यसैले यसलाई गाउँपालिकाकै प्रमुख पर्यटनस्थल बनाउने उदेश्यले पहिलोपटक यहाँ बैठक बस्यौँ, अव नियमित बैठक यहीँ राख्नेछौँ ।’
उच्च ठाउँ, चिसो मौसम र बस्ती विस्तार नभएकाले अधिकतर जनप्रतिनिधि नै अहिलेसम्म सो ठाउँमा नपुगेकाले पनि गाउँकार्यपालिका बैठक राखिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए । केपिलासगढी गाउँपालिकाको प्रमुख पर्यटकीय तथा ऐतिहासिकस्थल भएकाले सो ठाउँको महत्व दर्शाउन आवश्यक प्रचारप्रसारको खाँचो महसुस गरेर बैठक राखिएको उनको भनाई छ ।
गाउँकार्यपालिका बैठकमार्फत सो ठाउँको इतिहास, भूगोल र वस्तुगत तथ्यहरुको उजागर हुने अनुमान गर्दे बैठक राखिएको हाकिम राईले बताए । अधिकांश जनप्रतिनिधि आफ्नै गाउँपालिकाको किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेको पाइएकाले पनि बैठक प्रचारप्रसार र भ्रमणको गन्तव्य बन्न सहयोग पुगेको पनि प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
‘यही ठाउँको नामबाट गाउँपालिका नामाकरण गरिएको छ र ऐतिहासिक, पर्यटकीय र सामरिक महत्वसमेत यसले बोकेको छ’ हाकिम राईले भने ‘यस्तो अत्यन्त महत्वपूर्ण ठाउँलाई प्रचारप्रसार गरेर आवश्यक पूर्वाधार तय गर्न सके अहिलेको पुस्ता र भावी पिँढी यसबारे जनकार हुनसक्छ ।’
यो ऐतिहासिक गढीमा अधिकतर कार्यपालिका सदस्यहरु नहिलेसम्म नपुगेको उपाध्यक्ष गुरुराज राईले बताए । ऐतिहासिकस्थलको भ्रमण गराउदै सो ठाउँको संरक्षण, संबद्र्धन र विकासको खाका कोरेर पर्यटकीय तथा ऐतिहासिकस्थल बनाउन यो बैठक कोशेढुङ्गा सावित हुने उपाध्यक्ष राईले बताए । बैठकले किरात ऐतिहासिकस्थल केपिलासगढीको संरक्षण र प्रवद्र्धन गर्न आगामी आर्थिकवर्ष नीति कार्यक्रममार्फत बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार पाटन संयुक्त बहुमुखी क्याम्पस काठमाडौँका पूर्व प्राध्यापक तथा सँस्कृतिविज्ञ चतुरभक्त राईले बैठकमा किरात ऐतिहासिकस्थल केपिलासगढी बारे कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसको विगत, वर्तमान अवस्था र भावी योजनाका लागि अहिलेसम्म भए–गरेका प्रयासहरू तथा अब गर्नुपर्ने कार्यक्रम उनको कार्यपत्रमा उल्लेख छ । बैठकले प्राध्यापक राईको कार्यपत्र सर्वसम्मत पारित गरेको पनि हाकिम राईले बताए ।
गाउँसभाहलको सोफामा बस्दै आएको बैठक केपिलासगढीको खुला चौरको दुवोमा म्याट ओछ्याएर सञ्चालन गर्दा छुट्टै आनन्द आएको सहभागी जनप्रतिनिधिहरुले बताएका छन् । साथै थुम्से (सोली)मा बोकेर लगेको सेलरोटी, अचार र सुठुनी (सखरखण्ड)को खाजा खाएका जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय कृषकले उत्पादन गरेको किवीको जुस नयाँ स्वादको रुपमा खुवाएको सहभागीहरुले बताए ।
बैठकलगत्तै केपिलासगढी दरबारक्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाले विभिन्न जातको गुराँसका बिरुवा रोप्ने काम यसअघि नै सुरु भईसकेको छ । गढी दरवारक्षेत्रमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरी स्थानीय ढुङ्गा माटो र काठपातको प्रयोगबाट संरचना निर्माण गर्दै प्रकृतिको संरक्षण गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।
बैठकमा सँस्कृतिविज्ञ चतुरभक्त राईलाई गाउँपालिकाले कदरपत्रसहित सम्मानसमेत गरेको छ । ४ नं. वडा बाक्सिला बजारनजिकै रहेको ऐतिहासिकस्थल केपिलासगढी संरक्षण गर्नुका साथै सामाजिक, साँस्कृतिक र पर्यावरणीय क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै प्राध्यापक राईलाई सम्मान गरिएको हो ।
केपिलासगढीमा ततकालीन निगुहाङ राजाको दरबार, सैनिक क्याम्प, बङ्करलगायत संरचनाको भग्नावशेष अझै प्रष्ट देख्न सकिन्छ । सदरमुकाम दिक्तेलदेखि ४२ किलोमिटर उत्तर–पूर्वमा अवस्थित केपिलासगढीलाई सँस्कृतिविज्ञ चतुरभक्त राईकै नेतृत्वको टोलीले अहिलेसम्म संरक्षण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।