१ महिना अघि
२0८१ माघ २३ बुधबारजलजले, माघ २३
त्रियुगा नगरपालिका ६ जलजलेमा आजदेखि ‘प्रथम त्रियुगा जलजले महोत्सव २०८१’ सुरु भएको छ । बुधबार दिउँसो त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले औपचारिक उद्घाटन गरेसँगै जलजलेमा महोत्सव सुरु भएको हो ।
स्थानीय स्वर्णिम युवा क्लब जलजलेको आयोजना र त्रियुगा नगरपालिकाको संयोजनमा सुरु महोत्सवको नारा ‘स्वदेशमै शिक्षा, रोजगार र कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रवद्र्धनक्षेत्रमा लगानी’ राखिएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको खेल मैदानमा सञ्चालित महोत्सव आउँदो फागुन ३ गतेसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष तथा महोत्सव संयोजक रमाकान्त चौधरीले बताए ।
स्थानीय उत्पादन, कृषि उपज, कला सँस्कृति, खाना परिकार, फलफुल र घरेलु उद्यमबाट उत्पादित सामग्रीदेखि बहुराष्ट्रिय कम्पनीका समान र यन्त्र उपकरणसमेतको प्रदर्शनी तथा विक्री वितरण गर्ने स्टलहरु राखिएको महोतसव ११ दिनसम्म चल्ने छ । महोत्सवमा थारु, दनुवार, नेवार, राई, लिम्बु, गुरुङ, मगर, तामाङ समुदायको रैथाने र पारम्परिक खानाका परिकारहरु आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।
१ सय स्टल, मुख्य प्रायोजक फर मि मोटर्स र सहप्रायोजक बन्दीपुर केबलकार रहेको महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलकारको प्रस्तुति रहनेछ । महोत्सवको पहिलो दिन कमल खत्री र एल्जिना रेग्मीले प्रस्तुति दिने कार्यक्रम छ । त्यसैगरी आउदा दिनमा चर्चित गायकहरु सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगरलगायत दर्जन बढी कलकारहरुको प्रस्तुति देख्न पाइने आयोजकले जनाएको छ ।
८० लाख हाराहारी खर्च हुने महोत्सवलाई नाफामा लगेर फाईदाको ४० प्रतिशत हिस्सा जलजलेस्थित पोखरीलाई पर्यटकीयस्थलमा रुपान्तरण गर्ने काममा खर्च गर्ने घोषणा क्लबले गरेको छ ।
उक्त पोखरीमा व्यवसायिक डुङ्गा शयर बोटिङ आकर्षण दिएर पर्यटकीयस्थलमा विकास गर्न महोत्सवको नाफा सदुपयोग गर्ने लक्ष्य आयोजकको रहेको छ । सुरक्षा व्यवस्थापन नहँुदा सो पोखरीमा विगत दशकयता आधादर्जन बढीको विभिन्न समयमा डुबेर ज्यान गईसकेको छ । पोखरीलाई चारैतिर घेराबार गरी सुरक्षित गर्दै बोटिङ गर्ने तथा पोखरीक्षेत्रलाई वनभोज –पिकनिक)स्थलमा रुपान्तरण गर्ने योजना क्लबले बनाएको चौधरीले बताएका छन् ।