१ महिना अघि
२0८१ माघ २३ बुधबारगाईघाट, माघ २०
उदयपुरमा बुधबारदेखि सुरु महिलाहरुको बच्चादानी (पाठेघर)को मुखको क्यान्सरबाट बचाउँने ह्युमन प्यालोमा भाईरस (एचपिभी)विरुद्धको खोप पहिलो दिन झण्डै ४ हजारलाई दिइाएको छ । माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बुधबार त्रियुगा र बेलका नगरपालिका तथा रौतामाई र लिमचुङबुङ गाउँपालिकामा दिन थालिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकमाई र त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले त्रियुगा १० बोक्सेस्थित बालमन्दिर माविको प्राङ्गणमा संयुक्त रुपमा उद्घाटन गरेको खोप अभियान अन्तर्गत त्रियुगामा मात्र २ हजार ८२ छात्राले खोप लिएका छन् । बेलका नगरपालिकाका १ हजार १ सय ५४ लाई दिइएको छ भने लिमचुङमा ३ सय ६६ जनालाई र रौतामाईका ३ सय २७ छात्राले खोप पाएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाका अनुसार उदयपुरका ४ नगर र ४ गाउँपालिकामा २ चरणमा खोप अभियान चलाउने योजना अनुसार पहिलो चरणको अभियान सुरु भएको हो । बुधबारदेखि सुरु अभियान त्रियुगा, बेलका र रौतामाईमा २५ गते शुक्रबारसम्म ३ दिन चल्नेछ । लिमचुङबुङमा भने २३ र २४ गते २ दिन मात्र खोप लगाउने कार्यतालिका छ ।
त्रियुगामा ७१ विद्यालयमा कक्षा ६ का छात्रा सङ्ख्या १ हजार १ सय ३०, कक्षा ७ देखि १० सम्मका ४ हजार २ सय २० लाई खोप दिने लक्ष्य लिइएको छ । त्यस्तै विद्यालय बाहिरका १ हजार २१ समेत गरी जम्मा ६ हजार ३ सय ७१ जनाले खोप पाउनेछन् । बेलकाका ४० विद्यालयका कक्षा ६ का ५ सय ७, कक्षा ७ देखि १० सम्मका १ हजार ८ सय ६९ र विद्यालय बाहिरका ४ सय ३५ गरी जम्मा २ हजार ८ सय ११ छात्रा खोपबाट लाभान्वित हुने लक्ष्य छ ।
त्यसैगरी लिमचुङबुङका १३ विद्यालयका १ सय १ जना कक्षा ६ का, ३ सय ४५ कक्षा ७ देखि १० का र विद्यालय बाहिरका ९० गरी ५ सय ३६ छात्रालाई खोप दिने अभियानको लक्ष्य रहेको छ । त्यसैगरी रौतामाई गाउँपालिकाका २८ विद्यालयका कक्षा ६ का २ सय १८, कक्षा ७–१० का ७ सय ७१ विद्यालय बाहिरका १ सय ९८ गरी जम्मा १ हजार १ सय ८७ जनालाई खोप दिने लक्ष्य लिइएको छ ।
दोस्रो चरणको खोप अभियान भने माघ २८ देखि फागुन २ गतेसम्म दिने कार्यतालिका छ । कटारी नगरपालिकामा २८ देखि फागुन २ गतेसम्म, चौदण्डीगढी नगर र उदयपुरगढी गाउँपालिकामा २८ देखि १ गतेसम्म तथा ताप्ली गाउँपालिकामा २८ देखि ३० गतेसम्म खोप दिइने छ ।
८ वटै स्थानीइतहका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु २० हजार १ सय २२ जनालाई यो अभियान अन्तर्गत एचपिभी खोप दिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय उदयपुरका सुपरभाईजर चिरञ्जिवी निरौलाले बताएका छन् ।
उदयपुरमा कक्षा ६ को छात्रा सङ्ख्या ३ हजार ६ सय ९ जना छ भने कक्षा ७ देखि १० का छात्रा १३ हजार ४६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकाको सङ्ख्या २ सय २ जना र ११ देखि १४ वर्ष उमेर समूहका किशोरी ३ हजार २ सय ६५ जना रहेको स्वास्थ्यले जनाएको छ । उनीहरुलाई पनि कुनै न कुनै माध्यमबाट खोप दिने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।