१ महिना अघि
२0८१ माघ २२ मंगलवारजलजले, माघ २१
सदरमुकाम त्रियुगा नगरपालिका ६ जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)को बैँक खाता बन्द भएको छ । गएको मङ्सिरदेखि क्लिङ्कर उत्पादन बन्द र पुृसदेखि सिमेन्ट विक्री बन्द भएको उद्योगको खाता अदालतको आदेशमा बन्द भएको उद्योग प्रशासनले जनाएको छ ।
भुक्तानी नपाएको भन्दै सप्लायर्सहरुले दिएको रिटका आधारमा काठमाडौँ जिल्ला अदालतले माघ ८ गतेको फैसला अनुसार बैँक खाताहरु रोक्का भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले बताए । उनका अनुसार अदालतको आदेशपछि राष्ट्रिय बाणिज्य बैँक, ग्लोबल आईएमी, नेपाल बैँक लिमिडेड, सनराईज, सिटिजनलगायत बैँकमा रहेका २८ वटै चालु, पुँजीगत र बचत खाताहरु सबै रोकिदा उद्योग ठप्प भएको छ ।
खासगरी उद्योगको मर्मत सम्भार शीर्षकमा खर्च गर्नेगरी सरकारले दिएको १६ करोड रकम दुरुपयोग रोक्न अदालतमा मुद्धा परेको हुनसक्ने अनुमान छ । खाता रोक्का गर्ने आदेशले उद्योग थप समस्यामा परेको साहले बताए । खाता रोक्कापछि सामान्य काम पनि अवरोध भएकाले उच्च अदालत गुहार्ने तयारी भईरहेको उनले बताए । ‘एउटा विषयमा मुद्धा पर्दा सबै खाता रोक्ने आदेशले समस्या निम्त्याएको छ, त्यसैले पुनरावेदन जाने तयारी गर्दैछौँ’ साहले भने ।
उद्योग धरासायी हुँदै गएको र सुचारु गर्न माग गर्दै जिल्लाबासी नेकपा (माओबादी केन्द) निकट नेता कार्यकर्ताहरुको प्रतिनिधिमण्डलको माग बमोजिम प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले उद्योग मर्मत गर्न भन्दै १६ करोड बजेट दिने निर्णय गरेको थियो । यन्त्र उपकरण मर्मतका लागि भनेर दिएको बजेटबाट मेटालिक चेन फेर्ने तथा किल्न सेल नयाँ राख्ने काम अघि बढेको थियो ।
तर, ल्याउँदै गरेको अवस्थामा गत कात्तिकमा उदयपुर र सप्तरी सीमानजिकै चुरे जङ्गलको उकालोमा किल्न सेल बोकेको क्रेन नै पल्टेर सडकमुनि पडिरहेको छ । तर, ठेकेदार ट्याक्टीकल कम्पनी काठमाडौँले उद्योगलाई नबुझाई दुर्घटनामा परेकाले किल्न सेलको कुरा उद्योगको दायित्वभित्र नपर्ने साहले बताए ।
यता मेटालिक चेन फेर्ने काम अन्तिम चरणमा पुगेकाले कोईला भए केहीदिनभित्रै उद्योग सञ्चालन गरेर उत्पादन सुरु गर्न सकिने उनी बताउँछन् । बैँख खाता नरोकिएको भए मेटालिक चेनको काम सकिनै लागेकाले फाईरिङ हुन्थ्यो तर, खातै रोकिएपछि कामै सब ठप्प भएको साहले बताए ।
क्लिङकर उत्पादन रोकिएसँगै स्टक सिमेन्ट महिनादिनसम्म विक्री गरेर पुस २५ गतेदेखि गोदाम रित्तिएपछि आम्दानी शून्य भए पनि दायित्व भने बढिरहेको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले बताएका छन् । उद्योगमा हाल झण्डै सयजना अधिकृतस्तर र सहायकस्तर गरी २ सय २० जना स्थायी कर्मचारी कार्यरत छन् । उनीहरुको तलव भत्तावापत मासिक १ करोड हाराहारी दायित्व थपिन्छ ।
६० जना करार ज्यालादारी सुरक्षाकर्मीको मासिक तलब १५ लाख नियमित विद्युत महसुल कम्तीमा १५ लाख, बक्यौता विद्युत महसुलको व्याज र हर्जाना कम्तीमा ३० लाख हाराहारी दायित्व उद्योगलाई थपिन्छ ।
यसबाहेक डेडिकेटेड फिडर र ट्र्ङ्क लाईनकै पुरानो विद्युत बक्यौता ५५ करोडभन्दा माथि पुगिसकेको छ भने सेवा निबृत्त कर्मचारीको उपदानवापत ४५ करोड भुक्तानी बाँकी छ । सबै गर्दा मोटामोटी महिनाको डेढकरोडभन्दा माथि नै आर्थिक भार थपिदै गएको जिएम साह बताउँछन् । कर्मचारीको तलव गत असोजदेखि खुवाइएको छैन भने नियमित बुझाउनु पर्ने सञ्चय कोष र नागरिक लगानी कोषवापतको हिस्सा २ वर्षदेखि बाँकी छ ।
कोईला, मेसिनरी पार्टपुर्जा र सामानको भुक्तानी विभिन्न सप्लायर्सलाई बुझाउने दायित्व ६५ करोडभन्दा बढी नै छ । समग्रमा अहिलेसम्म उद्योगलाई १ अर्ब ५० करोडभन्दा बढी नै दायित्व पुगिसकेको र थपिने क्रम जारी रहेको साहले बताए ।