२० हजार किशोरीलाई क्यान्सरबाट बँचाउन एचपिभी खोप

२ महिना अघि

२0८१ माघ १५ मंगलवार
२० हजार किशोरीलाई क्यान्सरबाट बँचाउन एचपिभी खोप

उदयपुर, माघ १५

उदयपुरका २० हजारबढी किशोरीलाई एचपिभी खोप दिइने भएको छ । महिलाहरुलाई बच्चादानी (पाठेघर)को मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप दिन लागिएको स्वास्थ कार्यालय उदयपुरले जनाएको छ । मङ्गलबार स्वास्थ्य कार्यालयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी खोप अभियानबारे जानकारी गराइएको हो । 


‘एचपिभी अभियान २०८१’ सफल पार्न आयोजित एकदिने अभिमुखकरणमा जिल्ला खोप समन्वय समिति पदाधिकारी, स्थानीय सञ्चारकर्मी र सरोकारवालाहरु सहभागी थिए । कार्यक्रममा खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले महिलाको बच्चादानीको मुखमा हुने क्यान्सर रोगको रोकथाम गर्न जिल्लामा पहिलो पटक यो खोप दिन लागिएको बताए । 


म्हिलाहरुको बच्चादानीको मुखको क्यान्सर हुनुमा प्रमुख कारण ह्युमन प्यालोमा भाईरस भएकाले त्यसविरुद्ध खोप दिइने निरौलाले बताए । विद्यालय केन्द्रित अभियानमा सबै सामुदायिक तथा सँस्थागत (नीजि) विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई खोप दिइने छ । अभियान अन्तर्गत उदयपुरमा माघ २३ देखि फागुन १ गतेसम्म खोप दिइनेछ । 


जिल्लाका ८ वटा स्थानीयतहका २ सय ८३ विद्यालयमै चलाइने खोप अभियानबाट २० हजार १ सय २२ जना छात्राहरुले एचपिभी खोप पाउने निरौलाले बताए । जिल्लाभरी कक्षा ६ मा ३ हजार ६ सय ९ जना छात्रा छन् भने ७ देखि १० सम्म पढने १३ हजार ४६ जना रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छ ।
 

विद्यालयबाहिरका १० वर्ष उमेर समूहका बालिका सङ्ख्या २ सय २ जना र ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरु ३ हजार २ सय ६५ जना रहेको र उनीहरुलाई पनि कुनै न कुनै माध्यमबाट खोप दिलाउने लक्ष्य कार्यालयले लिएको निरौलाले बताएका छन् । 


कार्यक्रममा जनस्वास्थ अधिकृत रामभरोस ठाकुरले अभियानमा ३ सय ९६ खोप केन्द्रमा ४ सय ३ जना स्वास्थकर्मी र ७ सय ९९ जना स्वयंसेवक जनशक्ति परिचालन गरिने अभिमुखीकरणमा बताए । त्यसका लागि आवश्यक तालिम दिएर सम्बन्धित क्षेत्रमा खटाउने तयारी भईरहेको उनले बताए । 


हाकिम ठाकुरका अनुसार नेपाली महिलाहरुमा बच्चादानीको मुखको क्यान्सर हुनुमा ८० प्रतिशत कारण एचपिभी भाइरल भन्ने तथ्य पत्ता लागेको छ । बच्चादानीको क्यान्सरका कारण मुलुकमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क पनि ठाकुरले प्रस्तुत गरे । 


यो कहाली लाग्दो अवस्थाको अन्त्य गर्न सरकारले ३ वटा मुख्य लक्ष्य लिएर अघि बढिरहेको ठाकुरले बताए । जस अनुसार पहिलो चरणमा १० देखि १४ वर्षसम्मका किशोरीमध्ये कम्तीमा ९० प्रतिशतलाई एपिभि खोप दिइने लक्ष्य लिइएको छ । दोस्रो चरणमा ३० वर्ष नाघेका महिलामध्ये ९० प्रतिशतको बच्चादानीको मुखको क्यान्सर पत्ता लगाउन परीक्षण अभियान चलाउने र तेस्रो क्यान्सर पत्ता लागेका महिलामध्ये ९० प्रतिशतको उपचार सफल बनाउने लक्ष्य सरकारको छ ।