२ महिना अघि
२0८१ माघ ५ शनिबारउदयपुर, माघ ५
नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरु सामाजिक अन्तरघुलन हुन थालेका छन् । सडक र सदनको राजनीतिलाई सँगै लिएर गए मात्र समाजबादसम्म पुग्न सकिने सँश्लेषण गरेको नेकपाले ०७९ को निर्वाचनदेखि चुनावको उपयोग गर्ने नीति पास गरेयता नेता कार्यकर्ताहरु विद्रोह र असहमति छाड्दै सामाजिक क्षेत्रमा लाग्न थालेका हुन् ।
यसैबीच पार्टीको ओखलढुङ्गा सेक्रेटरीको जिम्मेबारीमा रहेका लक्ष्मण पौड्याल कटारीस्थित मरुवा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष छानिएका छन् । कटारी नगरपालिका ४ स्थित मरुवा माविको शुक्रबार सम्पन्न अभिभावक भेलाले पौड्याललाई अध्यक्षमा चयन गरेको हो ।
सोही विद्यालयबाट प्रारम्भिक पढाई सकेका पौड्याल सर्वसम्मत अध्यक्ष छानिएका हुन् । कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको उपस्थितिमा गठित विव्यसको सदस्यमा शोभा कार्की, लिला खत्री, दिपादेवी खत्री, पुस्कर परियार र भिमबहादुर कटुवाल चयन भएका छन् । भेलाले शिक्षक अभिभावक सङ्घको अध्यक्षमा रविन कार्कीलाई चयन गरेको छ ।
नवगठित समितिका अध्यक्ष पौड्यालले आफुले कखरा सिकेको विद्यालयलाई नमूना र गुणस्तरीय पठनपाठन गराउने प्रतिबद्धता जनाए । विद्यालयको सुधार, शैक्षिक विकास र प्रबद्र्धन गर्न अभिभावकले सुम्पेको जिम्मेबारी इमान्दारिताका साथ पुरा गर्ने प्रतिबद्धता जनाउदै उनले मरुवा माविको शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा देखिने काम गर्ने वाचा गरेका छन् । शिक्षकहरुलाई आवश्यक तालिम तथा विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाउदै विद्यार्थीको शैक्षिक अधिकारको ग्यारेन्टी गराउने वचन पनि उनले दिएका छन् ।
सोही विद्यालयबाट प्रारम्भिक शिक्षा पुरा गर्दैगर्दा माओबादी जनयुद्धमा होमिएका पौड्याल बिप्लव नेतृत्वको नेकपा स्थापनाकालदेखि नै पार्टीमा आबद्ध भएर क्रियासिल हुँदै आएका छन् । लामो समय उदयपुर सेक्रेटरी रहँदा रचनात्मक र सिर्जनसिल गतिबिधि गर्दै समाज सुधारमा लाग्दै आएका पौड्याल यसअघि ओखलढुङ्गा सेक्रेटरी हुनुअघि मधेस व्युरो र पूर्वी व्युरो सेक्रेटरीसमेत भईसकेका छन् ।
शनिबार विहान कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष पौड्याल, शिअ सङ्घ अध्यक्ष कार्की र सदस्यहरुलाई बधाई दिँदै विद्यालय सुधारमा लाग्न सुझाए । विव्यवस, शिअ सङ्घ, शिक्षक, विद्याार्थी रअ भिभावक सबै मिलेर विद्यालयलाई राम्रो र पठनयोग्य बनाउन आग्रह गर्दै शैक्षिक सुधारमा नगरपालिकाले खेल्ने भूमिकाप्रति शङ्का नगर्न उनको आग्रह थियो ।
समग्र कटारी नगरपालिकाको शैक्षिक विकासमा आफु रहेको भन्दै मेयर श्रेष्ठले त्यसका लागि आवश्यक सबै पहल र सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
नेकपाको निर्वाचन उपयोग गर्ने नीति पारित गरेपछि नेता कार्यकर्ताहरु सडक सङ्घर्षलाई छाडेर उत्पादन र सामाजिक अन्तरघुलनतर्फ आकर्षित हुदै आएका छन् । चुनावको उपयोग, सदनमा उपस्थिति र सामुहिक उत्पादनबाट मात्र समाजबादको यात्रा तय गर्न सकिने सँश्लेषण पार्टीले गरेकाले नेता कार्यकर्ताहरु सामाजिक अन्तरघुलनमा लागेको उदयपुर सेक्रेटरी अमृत सी बताउँछन् । सोही नीति अनुरुप नेकपा नेकपाले पछिल्लो स्थानीयतह उपनिर्वाचनमा माओबादीका उम्मेदवारलाई साथ दिएको उनले बताए ।
नेकपा (माओबादी केन्द्र) सँग एकताको अन्तिम चरणमा पुगेको नेकपाले उदयपुरमा पनि सामुहिक खेती गरिरहेको अमृतले बताएका छन् । ‘कम्युन’ अवधारणा अनुसार सदरमुकाममा १० बिगाहा बढी जमिनमा र जिल्लाका दर्जन ठाउँमा चक्लाबन्दी जमिनमा सामुहिक खेती गर्दै तरकारी, धान र मकै तथा दलहन तेलहन उत्पादन गरिहेको जनाएको छ ।