३ महिना अघि
२0८१ पुष १३ शनिबाररामपुर, पुस १३
उदयपुरको कान्छो नगरपालिका बेलकाले आर्थिकवर्षको ५ महिना अवधिमा पुँजीगत खर्च १० प्रतिशत पुर्याउन सकेको छैन । नगरसभाले चालु आर्थिकवर्षका लागि पुँजीगत बजेट २४ करोड ६२ लाख ४ हजार ३५ रुपैँयाको अनुमान गरेकोमा हालसम्म ८.१४ प्रतिशत मात्र खर्च भईरहेको छ ।
मङ्सिर मसान्तसम्म नगरपालिकाले पुँजीगत बजेट १ करोड ४८ हजार ७ सय ६३ रुपैँया खर्च गरिरहेको छ । लेखा अधिकृत राजन भट्टराईका अनुसार पुँजीगत बजेटको यो खर्च हिस्सा ८.१४ प्रतिशत हो । पुँजीगत बजेट विकास निर्माणसँग सम्बन्धित भएकाले यो भन्दा बढी भईसकेको छ । ध्माधम काम भईरहेको र बील पेश भए पनि भुक्तानीको प्रक्रियामा रहेकाले खर्चमा देखिएको अङ्कभन्दा बढी हुने अधिकृत भट्टराई बताउँछन् ।
कतिपय योजनाहरु सम्झौता भई काम भईरहेको र भएको कामको बीलसमेत पेश भईसकेकाले पुँजीगत बजेट यो भन्दा बढी खर्च भएको उनी बताउँछन् । बील भुक्तानीको पाईपलाईनमा रहेको तथा सम्झौता भएका योजनाहरुको काम निरन्तर भईरहेकाले पनि देखिएभन्दा बढी खर्च हुने भट्टराईले बताए ।
चालुतर्फ भने बेलकाले ५ महिनामा ३१.८८ प्रतिशत खर्च गरिसकेको अधिकृत भट्टराईले बताएका छन् । यसवर्ष चालुतर्फ ५३ करोड ७९ लाख २९ हजार ९ सय ९३ रुपैँया विनियोजन गरेकोमध्ये हालसम्म १७ करोड १५ लाख ६ हजार ३ सय ८३ रुपैँया खर्च भईसकेको छ । अधिकृत भट्टराईका अनुसार चालु र पुँजीगत दुवै गरी समग्रमा बेलकाको खर्च प्रतिशत १०.१ हो ।
अधिकृत भट्टराईका अनुसार बेलकामा भौतिक पूर्वाधार संरचनातर्फ खानेपानी, विद्यालय भवन र सडकजस्ता ठूला योजनाहरु सञ्चालित छन् । चालुवर्ष निर्माण हुने बेलका १ तपेश्वरीमा ४ करोड लागतको निर्माणाधीन विद्यालय भवन वहुवर्षीय योजना अन्तर्गत काम हुँदैछ । ३ करोड २० लाख लागतको रामपुर खानेपानी योजनाको काम पनि भईरहेको छ भने ८ नं. को सोमबार–माईन्टार सडक र र रामपुर–सातपत्रे–आम्बासी सडक १ करोडम निर्माण सुरु भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बितेको ५ महिनामा भएको यो खर्च सन्तोषजनक रहेको बताएका छन् । आर्थिकवर्ष सुरु भएदेखि अहिलेसम्म दसैँ, तिहार, छठ, उधौलीजस्ता चाडबाडले पनि काम गर्न ढिला एको उनी बताउँछन् ।
चालु आर्थिकवर्षका लागि बेलकाले ७८ करोड ४१ लाख ३४ हजार २५८ रुपैँयाको अनुमानित आयव्यय प्रक्षेपण गरेको नगरप्रमुख अशोक कार्कीले बताएका छन् । सङ्घीय सरकार र प्रदेशबाट प्राप्त पुँजीगत, समपूरक र विशेष अनुदानको साझेदारीमा बेलकाले खानेपानी, सडक, भवन र सिँचाई कुलो तथा नालालगायत महत्वपूर्ण भौतिक पूर्वाधार निर्माण गर्ने गरी नीति कार्यक्रम पारित गरेको उननको भनाई छ ।