३ महिना अघि
२0८१ पुष १२ शुक्रबारविराटनगर, पुस १२
मनमोहन विश्वविद्यालयका नवनियुक्त उपकुलपति (भाईस चान्सलर) डा सुवासश्री पोखरेलले शिक्षामा गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिउयस्तरको बनाउने ‘मिसन २०८५ रणनीति’ पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सरकारबाट शुक्रबार उपकुलपतिमा पुनर्नियुक्त्ति लिएर सपथग्रहण गरेपछि पदभारग्रहण गर्ने क्रममा पोखरेलले सो प्रतिबद्धता जनाएका हुन् । उनले दोस्रो कार्यकालमा मिसन २०८५ राण्नीति सफल बनाएर विश्विद्यालयलाई अन्तराष्ट्रियस्तरको शिक्षण सँस्था बनाएरै छाडने प्रतिबद्धता जनाए ।
्पदभार ग्रहण गर्दै (भाइस चान्सलर) पोखरेलले पहिलो ४ वर्षे कार्यकालमा विश्वविद्यालयले ४ विषयमा स्नातक र २ विषयमा स्नातोकोत्तर कक्षा सञ्चालन गरे पनि पर्याप्त नभएकाले थप पाठयक्रम निर्माण गरी विभिन्न विषयमा सोधकार्य (पिएचडी)सम्मको पठनपाठन गराउन विश्वविद्यालयलाई भौतिक पुर्वाधार सम्पन्न बनाउने योजना सुनाए ।
सो योजना भनेकै मिसन २०८५ रणनीति भएको भन्दै भिसी पोखरेलले आफुले तयार गरेको योजना कार्यान्वयन गर्ने विषयमा पदाधिकारी र कर्मचारी समूहले सहयोग गर्न आग्रह गरे । मिसन २०८५ रणनीतिभित्र अत्यावश्यक मुख्य १८ कार्यभारहरु रहेका जानकारी गराउँदै भिसी पोखरेलले जम्मा १ सय ८ वटा कामहरु त्यसभित्र समेटिएको जानकारी दिए ।
विश्वविद्यालयले तयार गरेको रणनैतिक प्रतिवेदन अनुसार आगामी २०८५ भित्र थप १८ वटा पाठयक्रम निर्माण गर्नुपर्नेछ । पाठयक्रम निर्माणपछि ५ विषयमा पिएचडी र १० विषयमा माष्टर्स (स्नाकोत्तर) तथा १२ विषयमा स्नातक कक्षा सञ्चालन गर्नुपर्नेछ । यसैगरी विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउन पानी, जडिबुटी, औषधि, पशु डेष्टिङ फरेन्सिक, प्याथोलोजी, जेनेटिक्स, नेचुरोपेथी, वायोमडिकल, हाई भोल्टेज कन्ट्रोल, सुपर कमप्युटर, हेमाटोलोजी, फिजियोथेरापी ईक्योलोजीलगायत ल्यावहरु स्थापना गर्नुपर्नेछ ।
डा. पोखरेलले मिसन २०८५ भित्र विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयू गर्ने योजना पनि अघि सारेको बताएका छन् । दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न देशहरुबाट कम्तीमा एक विषयमा एक जना विदेशी विज्ञ शिक्षक ल्याइने छ । यस वाहेक विश्वविद्यालयले आफनै तारा मण्डल निर्माण गर्ने तथा साईन्स म्युजियम
(विज्ञान संग्रहालय)सहितको विज्ञान पार्क पनि निर्माण गर्ने योजना मिसन ०८५ मा समेटिएको छ ।
त्यसैगरी मेडिकलतर्फ प्राविधिक विषय अध्यापन गराउन आफनै शिक्षण अस्पताल निर्माण गर्ने, अनुसन्धान केन्द्रलाई अन्तराष्ट्रिय मापदण्डको बनाउने, विश्वविद्यालय परिसरभित्र स्विमिङ पुल, मेडिसिनल (जडिबुटी) गार्डेन निर्माण गर्नेदेखि फिजिकल फिटनेस सेन्टरसम्म स्थापना गर्ने योजना पनि पोखरेलले अघि सारेका छन् ।
यसबाहेक १ हजार जना अँट्ने अडोटोरियम हल, ५ हजार क्षमताको स्टेडियम (रङ्गशाला) निर्माण, अलग्गै टिचिङ ब्लकदेखि आफनै ग्रोसरी कम्पलेक्ससम्म बनाउने योजना विश्वविद्यालयले अघि सारको छ । त्यसैगरी विश्वविद्यालय क्षेत्रलाई मनमोहन स्मार्ट सिटीका रुपमा विकास गराउने, मनमोहन कानुन ब्लक बनाउने, एनिमल हाउस तयार गर्ने, ईलेक्ट्रिक टेस्टिङ सेन्टर स्थापना गर्नेलगायत योजना बनाएको छ ।
मिसन २०८५ का लागि आवश्यक १८ कार्यभार पूरा गर्न २० अर्बभन्दा बढी बजेट चाहिने भन्दै पोखरेलले त्यसका लागि प्रदेश सरकार, सङ्घीय सरकार, अनुदान आयोगदेखि विभिन्न नियोगहरुसँग सहयोग माग्ने तथा सम्झौता गर्ने नीति विश्वविद्यालयले लिएको छ । भिसी पोखरेलले धेरै अनुसन्धानका लागि युरोपियन युनियनसँग सम्झौता गरिसकेको जानकारी पनि दिएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा हाल इन्जिनियरिंङ, मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेज, स्कुल अफ एप्लाइड साईन्स, टेक्नोलोजी एण्ड ल गरी ३ सङ्कायमा पठनपाठन हुँदै आएको छ । जसमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्समा स्नातक, औषधि विज्ञान (फार्मेसी) स्नातक, अस्पताल म्यानेजमेन्टमा स्नातोकोत्तर र कानुनमा स्नातक तथा स्नातोकोत्तरतहमा पठनपाठन हुँदै आएको छ । यसबाहेक ३ वर्षे स्नातकतहमा ८ वटा विभिन्न प्राविधिक विषयमा पनि पढाई भईरहेको छ ।
करिब २१ विगाहा क्षेत्रफल जमिनमा फैलिएको विश्वविद्यालयको भौतिक संरचना ३० अर्ब बढी लगानीमा निर्माण गरिएको छ । हाल आवश्यक ४ तले पारामेडिकल भवन र ३ तले विज्ञान भवन निर्माण भईसकेको छ भने ५ तले प्रशासनिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । यसबाहेक आफ्नै अनुसन्धान केन्द्र, आधुनिक विषयत ल्याबहरू, भौतिक बस्तु परीक्षण गर्ने व्यवसायिक ल्याब र आधुनिक लाईब्रेरी तथा आफ्नै वर्कशप पनि सञ्चालन भईरहेका छन ।