३ महिना अघि
२0८१ पुष १0 बुधबारकटारी, पुस १०
आर्थिक वर्ष सुरु भएको ६ महिना लाग्दैगर्दासम्म पुँजीगत बजेट उत्साहजनक रुपमा खर्च हुन सकिरहेको छैन । सङ्घीय सरकारले खर्च गर्न नसकेजस्तै प्रदेश र स्थानीयतहहरुले पनि पुँजीगत बजेट न्यून मात्र खर्च गरिरहेका छन् ।
चालुवर्ष सुरु भएको ५ महिना पुरा गरेर छैठौँ महिना सातादिन बितिसक्दासम्म धेरै स्थानीतहहरुले पुँजीगत बजेट १० प्रतिशत कटाउन नसकेको पाइएको छ । जिल्लाको कटारी नगरपालिकाले भने पुँजीगत खर्च १३.३३ प्रतिशत खर्च गरिसकेको जनाएको छ । यो खर्च प्रतिशत सन्तोषजनक मानिएको छ ।
कटारीले ‘१३ औँ नगरसभा’बाट चालुवर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैंयाको बजेट पारित गरेको छ । जसमा सङ्घ, प्रदेश र दुवैतर्फ समपूरक तथा विशेष अनुदान गरी पुँजीगततर्फ २१ करोड ६५ लाख २६ हजार ४ सय २१ रुपैँया खर्च हुने प्रक्षेपण नगरसभाले गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाका अनुसार हालसम्म पुँजीततर्फ बजेट हालसम्म २ करोड ८८ लाख ६२ हजार ९ सय ७२ रुपैँया अर्थात १३.३३ प्रतिशत खर्च भएको बताए ।
उनका अनुसार विकास निर्माणको काम भएकाले योभन्दा दोब्बर बढीको काम भईसकेको तर, भुक्तानी हुन बाँकी रहेको छ । ‘विकास निर्माणको काम भएकाले कतिपय योजनाको रनिङ बील प्राप्त भएको तर, भुक्तानी हुन बाँकी छ र कतिपय योजनाहरु सम्पन्नको सम्मुख पुगिसकेको अवस्था छ’ हाकिम निरौलाले भने ‘अहिलेसम्म भुक्तानी भएको प्रतिशत चाँहि १३.३३ प्रतिशत हो । दोब्बर बढी बजेट खर्च भएको हुनसक्छ ।’
चालु बजेट भने कटारीले २८.२१ प्रतिशत खर्च गरिसकेको छ । बितेको ५ महिना अवधिमा कटारीको चालु बजेट खर्च १८ करोड ३६ लाख ६८ हजार ४ सय ५८ रुपैँया भईसकेको छ । कटारी नगरसभाले सङ्घीय सशर्त अनुदान ४० करोड ६६ लाख ५५ हजार, संघतर्फकै वित्तीय समानीकरण १२ करोड ६६ लाख ६० हजार प्राप्त हुने अनुमान गरेको थियो । त्यसैगरी राजश्व बाँडफाँडबाट प्राप्त ४० लाख तथा प्रदेशतर्पm सशर्त चालु ७४ लाख ३८ हजार प्राप्त गर्ने अनुमान सभाले गरेको छ ।
नगरपालिकाले ५ महिना अवधिमा १ करोड २१ लाख २२ हजार ८ सय ७७ रुपैँया राजश्व सङ्कलन गरेको छ । राजश्व शाखाका हिरालाल अधिकारी दनुवारले झण्डै साढे ४ करोड वार्षिक राजश्व सङ्कलन गर्ने प्रक्षेपण गरेको नगरपालिकाले हालसम्मको सङ्कलनलाई सन्तोषजनक मानेको बताए ।