जनपक्षीय पार्टी माओवादी नै हो भन्ने जनताले फैसला गरिसकेः प्रचण्ड 

३ महिना अघि

२0८१ मंसिर २९ शनिबार
जनपक्षीय पार्टी माओवादी नै हो भन्ने जनताले फैसला गरिसकेः प्रचण्ड 

रुपन्देही, मङ्सिर २९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी नै भन्ने जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिवार आयोजित माओबादीसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।


‘पछिल्लो समय जहाँ गएँ त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि डगमगिन दिने छैन’ अध्यक्ष प्रचण्डले भने ‘प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचारको झाँतोमा पिस्ने जुन काम गरेका छन्, हामी समाजवादी नयाँ आन्दोलनमार्फत त्यसको प्रतिवाद गर्नेछौँ।’


माओबादी सिद्धिदैछ भन्ने एमाले काँग्रेसको भाष्य भर्खरै सम्पन्न स्थानीयतह उपनिर्वाचनले देखाएको भन्दै उनले यसले माओबादीलाई रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको उनको भनाई थियो । उपचुनावको परिणाामले पार्टी शक्तिशाली बन्दै छ भन्ने प्रष्ट्याएको प्रचण्डले बताए । 


जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो र परिर्वतनको पक्षमा लड्ने पार्टी पनि एक मात्र माओवादी हो भन्ने कुरा जनतालाई परेको उनले बताए। माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएकाले माओवादी जनताले माया गर्न थालेको उनको भनाई थियो । 


आफु सरकारमा हँुदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए । ‘म सरकारमा छँदा भ्रष्टाचारीहरुलाई कारबाही अगाडि बढाएँ, धेरै राजनीतिक नेताहरु, ठुलठुला कर्मचारी, भुमाफियाहरुलाई कारबाही गरी राज्यको सम्पति जनताको हातमा ल्याउने काम गरेँ’ अध्यक्ष प्रचण्डले भने ‘भ्रष्टाचारीविरुद्ध कारबाही अगाडि बढाउदा प्रचण्ड नै देखिए पनि नछाड्न भनेर सुशासनको अभियान चालियो ।’


मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन् ल्याएर नै काम अघि बढाएको, विदेसमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरेको र अर्थतन्त्रको सुधारका लागि सरकारले पहल लिएको प्रचण्डको भनाई थियो ।  


माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै प्रचण्डले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनभावना समेट्ने काममा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत उनले दिएका छन् । देशको निम्ति, उत्पीडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधिनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाका निम्ति, सबै उत्पीडित वर्ग समुदाय, किसान मजदुरको हक र हित रक्षाका निम्ति माओवादी केन्द्र बलियो हुनुपर्नेमा उनले जोड दिए । माओवादी केन्द्रसँग एकताको प्रक्रियामा जनता र पार्टी समूहहरु सबै आउनुपर्छ भन्ने पर्दै गएको प्रचण्डको भनाई थियो । 


अध्यक्ष प्रचण्डले खुसी व्यक्त गर्दै माओबादीमा पछिल्लो चरण चलेको विभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने लहरले माओवादी अव राजनीतिक शक्ति केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको बताए । ठूलो बलिदानीमार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार खोस्न खोज्नेहरुलाई नछाड्ने प्रतिबद्धता जनाए । 


कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित नेता कार्यकर्ताको ठूलो टिम माओवादी केन्द्रमा समाहित भएको छ। काँग्रेस र एमालेका कार्यकर्ताहरु पनि सो अवसरमा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरु सबैलाई अध्यक्ष प्रचण्डले खादा, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।