उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा, २ वडामा ७ उपमतदान केन्द्र

४ महिना अघि

२0८१ मंसिर १५ शनिबार
उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा, २ वडामा ७ उपमतदान केन्द्र

गाईघाट, मङ्सिर १५

यहाँको रिक्त २ वडाध्यक्षका लागि भोलि १६ गते  हुन लागेको  चुनावको सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्ष पदमा चुनाव हुदैछ ।


त्रियुगा १२ को मतदान केन्द्र जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाट तोकिएको छ । त्यसैगरी बेलका ९ को मतदान केन्द्र बरपिपल मावि रामपुरमा तोकिएको छ । 


दुवै केन्द्रमा मतदानस्थल निर्माण कार्य सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरका अनुसार शनिवार विहानदेखि आवश्यक जनशक्ति परिचालन गरेर मतदान केन्द्रको सबै तयारी पूरा गरिएको हो ।


त्रियुगा १२ मा ४ र बेलमा ९ मा ३ वटा मतदान उपकेन्द्र निर्धारण गरिएको छ । जसका लागि मतदान अधिकृत, सहायक अधिकृत र आवश्यक कर्मचारीसमेत तोकेर जिम्मेवारी सुम्पिईसकिएको छ । 


त्रियुगा १२ मा क, ख, ग र घ उपकेन्द्रका लागि क्रमश: बबिता बस्नेत, विशेकबावु राई, डिल्लीरमण तामाङ र सिर्जना क्षत्रीलाई मतदान अधिकृत खटाइएको छ । 


त्यसैगरी बेलका ९ मा नवराज खड्का क, भवानी कट्टेल ख र विकास भट्टराई ग केन्द्रको अधिकृत तोकिएका छन् । विहान ७:०० देखि दिउँसो ५:०० वजेसम्म मतदान कार्यतालिका तोकिएक‍ो छ । 


काँग्रेसका सञ्जिव काफ्ले, एमालेका लक्ष्मीनारायण चौधरी, माओबादीका नवीन वान्तवा राई वडाध्यक्षका प्रत्यासी छन् । त्यस्तै एसकी निर्मला चौधरी, रास्वपाका ध्रुव पोखरेललगायत नाउपा, जनमत र स्वतन्त्र गरि ९ जनाले स्पर्धा गर्दैछन् । 


उता बेलका ९ मा नवराज बस्नेत, मोहन खड्का र भरत घिमिरे क्रमश: काँग्रेस, एमाले र माओबादीका उम्मेद्वार छन् भने रास्वपा, जसपा र राप्रपालगायत ७ ,जनाको भिडन्त हुदैछ ।
 

०७९ को स्थानीयतह निर्वाचनमा त्रियुगा १२ मा चुडाराज काफ्ले र बेलका ९ मा पदम खड्का विजयी भएका थिए । दुवैको सवारी दुर्घट्नामा परी निधन भएर उपनिर्वाचन हुन लागेको हो । निधन भएका दुवै वडाध्यक्ष काँग्रेसबाट निर्वाचित थिए ।