उदयपुर उपनिर्वाचनः १६ गते १६ जनाकै प्रतिस्पर्धा

२ दिन अघि

२0८१ मंसिर ५ बुधबार
उदयपुर उपनिर्वाचनः १६ गते १६ जनाकै प्रतिस्पर्धा

उदयपुर, मङ्सिर ५

यही मङ्सिर १६ गते हुन गईरहेको रिक्त त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को वडाध्यक्ष उपनिर्वाचनमा यहाँका १६ जनाले प्रतिस्र्धा गर्ने भएका छन् । उम्मेदवारी दर्ता गराउनेहरु कसैले निर्वाचन आयोगको बुधबारसम्मको समयसीमाभित्र नाम फिर्ता नलिएपछि चुनावी प्रतिस्पर्धा हुने भएको हो । 


बुधबार दिउसो ३ः०० बजेसम्मका लागि उम्मेदवारी फिर्ता गर्ने समयसीमा तोकिएको थियो । सो अवधिभित्र कसैले नाम फिर्ता नलिएकाले सबै उम्मेदवार चुनावमा भाग लिने निर्वाचन कार्यालयले जनाएको छ । 


त्रियुगा १२ मा १ स्वतन्त्रसहित ९ जनाको चुनावी प्रतिस्पर्धा हुने भएको छ । आयोगले तोकको नाम फिर्ता लिने अन्तिम समय बुधबार दिउँसो ३ः०० बजेसम्म तोकिएको थियो । सो अवधिभित्र कसैले नाम फिर्ता नलिएपछि चुनाव चिन्ह वितरण गरिएको हो । 


बुधबार तोकिएकै समयमा सबै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरले बताए । अन्य उम्मेदवारले पार्टीको चुनाव चिन्ह पाए भने स्वतन्त्र उम्मेदवार वजरङ्गबली कुमार दासलाई ‘चापा कल’ चुनाव चिन्ह दिइएको छ ।


त्रियुगा १२ मा काँग्रेसबाट सञ्जिव काफ्ले, एमाले लक्ष्मीनारायण चौधरी र माओबादी केन्द्रका नवीनकुमार बान्तवा राई वडाध्यक्षको दावेदार छन् । एकीकृत समाजबादीबाट निर्मला चौधरी, रास्वपाबाट ध्रुव पोखरेल र नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी आकांक्षी रहेको चुनावमा जनमत पार्टीबाट प्रमोद मलाहा सहनी र राप्रपाबाट लालबाबु साहको उम्मेदवारी परेको छ । 


बेलका ९ मा पनि चुनाव चिन्ह वितरण गरिएको छ । बेलका ९ मा काँग्रेस, एमाले र माओबादी केन्द्रसहित ७ जनाको उम्मेदवारी परेको छ । काँग्रेसबाट नवराज बस्नेत, एमाले मोहन खड्का र माओबादी केन्द्रका भरत घिमिरेले टिकट पाएका छन् । जनता समाजबादी पार्टीका राजकुमार राई, रास्वपाका तेजुमान विश्वकर्मा, राप्रपा टीकाराम फुयाल र नेश्नल मङ्गोल अर्गनाईजेसनबाट सूर्य तामाङ उठेका छन् । निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले उनीहरुलाई निर्धारित समयमै चुनाव चिन्ह प्रदान बताए । 


त्रियुगा १२ र बेलका ९ का वडाध्यक्षहरुको सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । ०७९ को स्थानीयतह निर्वाचनमा काँग्रेसबाट निर्वाचित त्रियुगा १२ का वडाध्यक्ष चुडाराज काफ्लेको सोही वर्ष शिवरात्रिको साँझ मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो । 


त्यसैगरी काँग्रेसबाटै विजयी बेलका ९ का वडाध्यक्ष पदम खड्काको पनि गएको जेठमा मोटरसाईकल दुर्घटनामै परेर निधन भएपछि पद रिक्त भएको थियो ।