कटारीका व्यापारीलाई करको दायरामा ल्याइने 

२ दिन अघि

२0८१ मंसिर ५ बुधबार
कटारीका व्यापारीलाई करको दायरामा ल्याइने 

कटारी, मङ्सिर ४

कटारी नगरपालिकाले सबै व्यापारी व्यवसायीलाई करको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । ‘१३ औँ राष्ट्रिय कर दिवश ०८१’को अवसरमा मङ्गलबार कटारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् । 


मङ्सिर १ देखि सुरु साताव्यापी कर सप्ताहको अवसरमा कटारीमा आयोजित कार्यक्रममा मेयर श्रेष्ठले नगरपालिकाभित्र व्यापार व्यवसायरत सबै सङ्घ, सँस्था र फर्महरुलाई करको दायरामा ल्याउने गरी अघि बढिरहेको बताए । उनले करको फाईदा र उपलब्धीबारेमा तल्लो तहसम्म जानकारी गराउनुपर्ने खाँचो औँल्याउँदै त्यसका लागि करसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । 


कतिपय व्यापार व्यवसायीहरु करको दायरामा आउन चाह पनि करसम्बन्धी ज्ञानको अभाव तथा प्राविधिक र कानुनी जानकारीको अभावमा जान नसकिहेको बताउँदै मेयर श्रेष्ठले त्यसको सहजीकरण गरिदिन कर कार्यालय र सरोकारवालाहरुलाई आग्रह गरे । कर तिर्दा हुने फाईदा, समाज र राष्ट्रलाई पुग्ने योगदा र कानुनी सहजताबारे जानकारी नभएका कारण पनि करको दायरामा आउन नसकेको उनको भनाई थियो । त्यस्को सहजीकरण गर्न करविज्ञ, कर कार्यालय र जनप्रतिनिधिलगायत सरोकारवालाहरुले सहयोग गर्नुपर्नेमा उनको जोड थियो । 


नगरपालिकाले सबै क्षेत्र र पेशा व्यवसायीलाई करको दायरामा ल्याउनेगरी एकीकृत कार्यक्रम ल्याउन लागेको जानकारी दिदै उनले यसलाई सार्थक तुल्याउन सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रममा इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले कर तिर्नु एउटा नागरिकको राज्यप्रतिका कर्तव्य भएको भन्दै त्यसका लागि करको दायरामा आउनुपर्ने बताईन् । नेपालीहरुमा आफुलाई आवश्यक नपरेसम्म कानुनी प्रक्रियाबारे कुनै जानकारी नलिने प्रवृत्ति रहेको भन्दै उपसचिव राईले करबारे सर्वसाधारणलाई जानकारी गराउन वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औँल्याईन् । 


कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख भीमप्रसाद काप्mलेले कानुनी ज्ञानको अभावमा करको दायराबाट भाग्न नसक्ने बताए । उनले राज्यप्रतिको दायित्व कर अनिवार्य शर्त भएको भन्दै कर र कालले कसैलाई नछोड्ने बताए ।  कर शिक्षाबारे सर्वसाधारणसम्म जानकारी दिलाउन विद्यालयस्तरबाटै पाठ्यक्रममा समावेश गरेर कर शिक्षा अध्ययन अध्यापन गराउन आवश्यक रहेको काफ्लेको भनाई थियो । 


कार्यक्रम करदाता सेवा कार्यालय गाईघाटको आयोजनामा कटारी चेम्बर अफ कमर्स कटारी, उदयपुर उद्योग बाणिज्य सङ्घ कटारी र जिल्ला उद्योग बाणिज्य सङ्घ गाईघाटको समन्वयमा गरिएको हो । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ नगर सभाकक्षमा आयोजित कार्यक्रमको सहजीकरण कटारी च्याम्बर अफ कमर्सका अध्यक्ष पवन श्रेष्ठले गरेका थिए । 


इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाई, ज्योति विकास बैँक कटारी शाखा प्रमुख राम आचार्यलगायतले कुरा राखेको कार्यक्रममा सुरक्षाकर्मी, व्यापारी व्यवसायी, वैंक तथा वित्तीय सँस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।