४ दिन अघि
२0८१ मंसिर ४ मंगलवारकाठमाडौँ, मङ्सिर ४
राजतन्त्रको अभियन्ता मेडिकल व्यवसायी दुर्गा प्रसाईं भर्खरै पक्राउ परेका छन्। भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।
प्रसाईलाई साईवर अपराध आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले पुष्टि गरेका छन् ।
प्रसाईले कम्बोडियास्थित एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको झन्डै ३२ अर्ब लगानी रहेको दाबी गरेका थिए । सोमबार मात्र पत्रकार सम्मेलन गरी उनले ओलीको लगानीबारे दस्ताबेज सार्वजनिक गरेका थिए ।
प्रहरीले प्रसाईले सार्वजनिक गरेको दस्ताबेजको सत्यतथ्य भने जाँच गरिसकेको छैन । एमाले र प्रधानमन्त्री ओली निकटहरूले भने ती दस्ताबेज फर्जी रहेको दाबी गरिररहेका छन् ।
प्रसाईले मङ्सिर ७ गते काठमाडौँमा राजाबादीहरुको विशाल जमघट गराउने तयारी गरिरहेका छन् । उनी यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका थिए । उनीविरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको छ ।