उपनिर्वाचन अपडेटः उम्मेदवारविरुद्ध दावी विरोध परेन 

४ दिन अघि

२0८१ मंसिर ३ सोमबार
उपनिर्वाचन अपडेटः उम्मेदवारविरुद्ध दावी विरोध परेन 

उदयपुर, मङ्सिर ३

आउँदो १६ गते हुन गईरहेको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्षका लागि परेको मनोनयनविरुद्ध उजुरी परेन । आईतबार दर्ता भएको मनोनयनविरुद्ध दुवै वडामा दावी विरोध नपरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ  ।


अघिल्लो दिन परेको उम्मेदवारीविरुद्ध सोमबार विहान १०ः०० देखि ५ः०० बजेसम्म दावी विरोध गर्ने समय आयोगले तोकेको थियो । तर, तोकिएको समयभित्र कसैप्रति कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिृकतको कार्यालयका सूचना अधिकारी दिलिप थापामगरले बताए । 


उनका अनुसार त्रियुगा नगरपालिका १२ मा ९ जनाको उम्मेदवारी परेको र कुनै उजुरी परेको छैन । त्यसैगरी बेलका ९ मा उम्मेदवारी दिने ६ जनाउपर पनि उजुरी नपरेको मगरले बताए । 


त्रियुगा १२ मा नेपाली काँग्रेसले सञ्जिव काफ्लेलाई उठाएको छ भने नेकपा (एमाले)ले लक्ष्मीनारायण चौधरीलाई उभ्याएको छ । नेकपा (माओबादी केन्द्र)बाट नवीनकुमार बान्तवा राईले उम्मेदवारी दिदा नेकपा (एकीकृत समाजबादी)ले निर्मला चौधरीलाई उठाएको छ । 


राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुब पोखरेल त्रियुगा १२ मा वडाध्यक्ष उम्मेदवार भएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरीको मनोनयन परेको छ । जनमत पार्टीले प्रमोद सहनीलाई उठाउँदा स्वतन्त्र उम्मेदवारको रुपमा बजगङ्गबली कुमार दास उठेका छन् । 

 

अर्को चुनाव हुन लागेको वडा बेलका ९ मा ६ जनाविरुद्ध पनि उजुरी परेको छैन । सो वडाका निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले कसैप्रति दावी उजुरी नपरेको बताए । बेलका ९ मा काँग्रेसले नवराज बस्नेतलाई उठाएको छ भने एमालेले मोहन खड्कालाई तथा माओबादी केन्द्रले भरत घिमिरेलाई वडाध्यक्ष बनाउन अघि सारेको छ । 


त्यहाँ जनता समाजबादी पार्टीले राजकुमार राई, रास्वपाले तेजमान विश्वक र राप्रपाले टीकाप्रसाद फुयाललाई उठाएको छ भने नेश्नल मङ्गोल अर्गनाईजेसनबाट सूर्य तामाङ उम्मेदवार भएका छन् ।  


०७९ को स्थानीयतह चुनावमा दुवै वडामा काँग्रेसका उम्मेदवार जितेका थिए ।  त्रियुगा १२ का वडाध्यक्ष चुडाराज काफ्लेको ०७९ फागुनमा शिवरात्रिका दिन र बेलका ९ का पदमबहादुर खड्काको गत जेठमा मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो । 


उनीहरुको निधनपछि रिक्त हुन गएको पदमा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन अधिकारी दिपक दाहालले बताएका छन् ।