६ दिन अघि
२0८१ मंसिर १ शनिबारउदयपुर, मङ्सिर १
सवोच्च अदालत र उच्च अदालतबाट दोषी करार भए पनि फरार रहँदै आएका यहाँका दुई जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लेनदेन मुद्धामा दोषी करार भएका त्रियुगा नगरपालिका १२ का ५४ वर्षीय बालसेर राई रहेका हुन् । राईविरुद्ध उच्च अदालत विराटनगरले ०७९ चैत ३ गतेको फैसला अनुसार २ वर्ष कैद र ५ लाख रुपैँया जरिवाना तोकेको छ ।
त्यसैगरी अर्को लेनदेन मुद्धामा त्रियुगा नगरपालिका ५ खारखोलाका ६७ वर्षीय तेजबहादुर राना मगर पक्राउ परेका छन् । मगरविरुद्ध सर्वाेच्च अदालतको ०८० वैशाख २९ गतेको फैसला अनुसार वन मुद्धामा ३ लाख ६८ हजार ६ सय ४५ रुपैँया जरिवाना तोकेको छ ।
दुवैविरुद्ध सर्वोच्च र उच्च अदालतबाट २ वर्ष कैद र ९ लाख ६८ हजार ६ सय ४५ रुपैँया जरिवाना तोकिएको प्रहरीले जनाएको छ । पक्राउ दुवैजनालाई जिल्ला अदालतमा बुझाएको र अदालतले सजाय भुक्तानका लागि जिल्ला कारागार पठाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताए ।