४ घण्टा अघि
२0८१ कार्तिक ३0 शुक्रबारउदयपुर, कात्तिक ३०
यहाँ भएको छुट्टाछुट्टै दुर्घटनामा चालकसहित दुईजनाको ज्यान गएको छ । बिहीबार विहान रौतामाई र उदयपुरगढीमा भएको ट्याक्टर दुर्घटनामा उनीहरुको निधन भएको हो ।
बिहीबार राति ८ः०० बजेको समयमा रौतामाई गाउँपालिका १ माझखर्कदेखि डहरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ त ८१९० नं. को ट्याक्टर भित्री सडकमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा रौतामाई १ का चक्रबहादुर तामाङको निधन भएको हो । ४० वर्षीय तामाङको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक सन्तोष कार्कीले बताए ।
दुर्घटनामा परी सोही ठेगानाकी १८ वर्षीया मनिषा तामाङ र २३ वर्षीय सुरेश तामाङ घाईते भएका छन् । घाईते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।
घट्नाबारे बुझ्न गएको जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक गङ्गाराम राई कमाण्डको टोलीले शुक्रबार घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ ।
त्यसैगरी बिहीबार विहान ९ः०० बजे भएको जिल्लाको उदयपुरगढी गाउँपालिकाबाट ताप्लीतर्फ जाँदै गरेको प्रदेश ०१–०२–००२ त ९६१ नं. को खाली ट्याक्टर दुर्घटनामा परी चालकको निधन भएको छ । उदयपुरगढी २ को गेर्खेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा भोजपुर हतुवागढी गाउँपालिका २ का १९ वर्षीय निरज मगरको निधन भएको इन्सपेक्टर कार्कीले बताएका छन् ।
सडकभन्दा ५० मिटर तल खसेर दुर्घट्नामा परेको ट्याक्टरका चालक मगरको घट्नास्थलमै निधन भएको तथा ट्याक्टरमा सवार उदयपुरगढी २ कै २२ वर्षीय रमेश श्रेष्ठ घाईते भएका छन् । उनलाई कटारी अस्पताल पठाइएकोमा त्यहाँ सम्भव नभएपछि शुक्रबार विहान थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्की कमाण्डको टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याएको जनाइएको छ । प्रहरीले दुवै ठाउँको घट्नाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।