दुवै वडामा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

६ घण्टा अघि

२0८१ कार्तिक ३0 शुक्रबार
दुवै वडामा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

उदयपुर, कात्तिक ३०

आउदो मङ्सिर १६ गते हुन गईरहेको उपनिर्वाचनको काम औपचारिक रुपमा सुरु भएको छ । उदयपुरका दुवै रिक्त वडामा हुने उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै औपचारिक कार्य सुरु भएको हो । 


जिल्ला निर्वाचन अधिकारी दिपक दाहालका अनुसार उपनिर्वाचनका लागि त्रियुगा नगरपालिका १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ भने बेलका नगरपालिका ९ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर कामकाज सुरु भएको छ । 


त्रियुगा नगरपालिका १२ नं. वडा कार्यालयकै भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला न्यायाधीश दिपककुमार खरेल, प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी र निर्वाचन अधिकारी दाहालसहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । उता बेलका ९ मा पनि वडा कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । 


निर्वाचन आयोगले त्रियुगा १२ मा मुख्य निर्वाच अधिकृत जिल्ला अदालतका १ नं. न्यायाधीश खरेललाई तोकेको छ भने बेलका ९ मा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता मनोजकुमार गुप्ता निर्वाचन अधिकृत तोकिएका छन् । 


कार्यालय स्थापना भएसँगै उपनिर्वाचनको कामकाज सुरु भएको निर्वाचन अधिकारी दाहालले बताए । निर्वाचन आयोगले मङ्सिर २ गतेदेखि १६ गतेसम्मको चुनावी कार्यतालिका तोके अनुसार उम्मेदवारको मनोनयनपत्र दर्तादेखि मतदानसम्मको समय निर्धारण गरिएको छ । 


जस अनुसार मङ्सिर २ गते विहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । दर्ता भएका मनोनयनपत्रको सोही दिन ५ः०० देखि ६ः०० बजेसम्म विवरण प्रकाशन गरिनेछ भने मनोनयपत्रको विरोधमा उजुरी दिने समय मङ्सिर ३ गते विहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म तोकिएको छ । 


विरोधका उजुरीउपर जाँचबुझ र निर्णय गर्ने समय ३ गते ३ः०० देखि मङ्सिर ४ गते ५ः०० बजेसम्मलाई दिइएको छ । सोही दिन ५ः०० देखि ६ः०० बजेसम्म नामावली प्रकाशनको तालिका तोकिएको छ । 


मङ्सिर ५ गते विहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने तालिका तोकिएको छ भने अन्तिम नामावली प्रकाशन पनि सोही दिन दिउँसो १ः०० देखि ५ः०० बजेसम्म गर्ने तालिका छ । सोही दिन ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । मङ्सिर १६ गते विहान ७ः०० देखि दिउँसो ५ः०० वजेसम्म मतदानको समय तोकिएको छ ।


निर्वाचन ऐन २०७३ को दफा ११ बमोजिम मङ्सिर १३ गते राति १२ः०० बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म उम्मेदवारहरुले भोट माग्न तथा चुनावी प्रचारप्रसार गर्न नपाउने व्यवस्था ऐनले गरेको अधिकारी दाहालले बताएका छन् । 


निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा १२ मा पुरुष १ हजार ८ सय ७६ र महिला मतदाताको सङ्ख्या १ हजार ९ सय ७१ सहित ३ हजार ८ सय ४० मतदाता रहेका छन् । त्यसैगरी बेलका ९ मा जम्मा ३ हजार १ सय ३६ मतदातामध्ये पुरुष १ हजार ५ सय ७२ र महिला १ हजार ५ सय ६४ मतदाता छन् । 


गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीयतह निर्वाचनमा विजयी वडाध्यक्षहरु त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाईकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । 


काफ्लेको चुनाव जितेकै वर्ष फागुनमा शिवरात्रिको साँझ मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो । नेपाली काँग्रेसबाट निर्वाचित काफ्लेको ठाउँमा पार्टीले उनकै छोरा सञ्जिवलाई उम्मेदवार बनाएको छ । काफ्लेसँगै वडाध्यक्षका लागि  एमालेका लक्ष्मीनारायण चौधरी, माओबादीका नवीनकुमार बान्तवा राई, एकीकृत समाजबादीका निर्मला चौधरी र रास्वपाका ध्रुब पोखरेलले प्रतिस्पर्धा गर्नेछन् । 

 

त्यसैगरी बेलका ९ मा काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष पदम खड्काको पनि गत जेठमा मोटरसाईकल दुर्घटनामै परी ज्यान गएको हो । त्यहाँ काँग्रेसले नवीन बस्नेतलाई उठाएको छ भने एमालेले मृतककै भाइ मनोज खड्का, माओबादीले भरत घिमिरे र रास्वपाले मेक विश्वकर्मालाई वडाध्यक्षमा प्रतिस्पर्धा गराउने भएको छ ।