१८ घण्टा अघि
२0८१ कार्तिक २९ बिहीबारउदयपुर, कात्तिक २९
भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ च्याम्पियनसिप)की खेलाडी अमिषा कार्कीर्ला गृहनगर त्रियुगाले सम्मान गरेको छ । नगरपालिकाले बिहीबार एक कार्यक्रमका बीच कार्कीलाई नगदसहित सम्मान गर्दै राष्ट्रिय झण्डा ओढाएर बजार परिक्रमासमेत गराएको छ ।
राष्ट्रिय फुटबल टिमकी सदस्यसमेत रहेकी कार्कीलाई नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले नगद ५० हजारसहित अलगअलग सम्मानपत्र प्रदान गरे । सो अवसरमा मेयर बस्नेतले अमिषाले साफ महिला च्याम्पिअनसिपमा उत्कृष्ट प्रदशन गर्दै उदयपुर र त्रियुगालाई दक्षिण एसियासँगै विश्वसामु चिनाएर अमूल्य योगदान गरेकोले सम्मानलायक भएको बताए । मेयर बस्नेतले कार्कीको खेलक्षेत्रको उज्वल भविष्यको कामना गर्दै नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा उपमेयर महेश्वरी राईले अमिषालाई महिला फुटबल खेलक्षेत्रमा उदाउदो ताराको संज्ञा दिदै भविष्यमा थप सफल खेलाडी बन्न प्रेरणाका लागि उत्साह भर्न सम्मान गरेको बताईन् । उनले महिलाहरु पुरुषभन्दा केहीमा कम छैनन् भन्ने कुराको प्रमाण अमिषाले देखाएको भन्दै आगामी दिनमा थप सफल भएर देखाउन शुभकामना दिईन् ।
त्रियुगा नगरपालिका ५ की स्थायी बासिन्दा अमिषा जिल्ला फुटबल सङ्घको सदस्य हुँदै रास्ट्रिय टिममा सहभागी हुन पुगेकी हुन् । साफ महिला च्याम्पिअनसिपको फाईनलमा बङ्गलादेश बिरुद्ध १ गोल गरेकी उनले खेल अवधिभरी ४ गोल गर्न सफल भईन् ।
सम्मानपछि नगरपालिकाले पञ्चे बाजा बजाउँदै रास्ट्रिय झण्डा ओढाएर गाईघाट बजारको परिक्रमा गराएको थियो ।