पहिचानको आन्दोलन फेरि चर्कदै

३ दिन अघि

२0८१ कार्तिक २६ सोमबार
पहिचानको आन्दोलन फेरि चर्कदै

गाईघाट, कात्तिक २६

प्रदेश १ पुन नामाकरणको आन्दोलनलाई तिब्रता दिइने भएको छ । जसका लागि १ नं. प्रदेश पुनर्नामाकरण संयुक्त संघर्ष समितिले आन्तरिक तयारी थालेको छ ।


यसै सिलसिलामा सोमबार सदरमुकाम गाईघाटमा आन्दोलनको स्वरुप र सहभागिताबारे अन्तरकिृया कार्यक्रम सम्पन्न भएको छ । संघर्ष समितिका जिल्ला संयोजक गङ्गा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समितिका संयोजक डेकेन्द्रसिंह थेगिम प्रमुख आतिथि थिए ।


किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, महासचिव तथा पहिचानका लागि युवा कमाण्डर भीम राई, प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समिति महासचिव रामभक्त कुरुम्वाङ, किराया केन्द्रीय सदस्य मनिस राई, किराया सहकोषाध्यक्ष छिला राई, किराया केन्द्रीय सचिव नगेशचन्द्र राईलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि थेगिमले पहिचानको आन्दोलन दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिदै आन्दोलन २ मंसिरदेखि सुरु हुने बताए । आन्दोलनमा सरकार वाहिर रहेका र पहिचानपक्षधरलाई सहयोग गर्ने पार्टीका प्रमुखहरुलाई उपस्थित गराउने बताए । थेगिमले यो आन्दोलनलाई निर्णायक बनाउने गरी तयारी भईरहेको बताउदै २०८४ को चुनाव लड्नेगरी पहिचान पक्षधरहरुको नयाँ पार्टी निर्माण गर्ने उदेश्य लिइएको बताए ।

 

  विद्यमान राजनीतिक दलहरुबाट पहिचान पाउन नसके पहिचानबादीहरुको साझा दल बनाएर निर्वाचनमा गई अधिकार लिन बाध्य हुने संयोजक थेगिमको भनाई थियो ।


कार्यक्रममा प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समितिका महासचिव रामभक्त कुरुम्वाङले दोस्रो चरणको आन्दोलनको स्वरुपबारे समितिका संरक्षक पूर्वमन्त्री गोपाल किरातीले रणनीति तयार पारिरहेको जानकारी दिए। किरातीको रणनीति अनुसार आन्दोलन अघि बढ्ने पनि उनले बताए। कार्यक्रममा अतिथि र सहभागीहरुवीच  अन्तरकृयात्मक प्रश्नोत्तर भएको थियो । 


संघर्ष समितिले आयोजना गरेको दोस्रो चरणको आन्दोलन आगामी मंसिर २ गतेदेखि सुरु हुदैछ । आन्दोलनको सुरुआत विराटनगरदेखि हुने जनाइएको छ । आन्दोलनका हरेक कार्यक्रममा सम्पूर्ण पहिचान पक्षधरलाई सहभागी हुन उदयपुर संयोजक गङ्गा राईले आग्रह गरेकी छिन् ।