सरकारको कामप्रति काँग्रेस नेता कोईराला असन्तुष्ट

५ दिन अघि

२0८१ कार्तिक २४ शनिबार
सरकारको कामप्रति काँग्रेस नेता कोईराला असन्तुष्ट

उदयपुर, कात्तिक २४

नेपाली काँग्रेसका वरिष्ट नेता डा. शेखर कोईरालाले वर्तमान सरकारले जनपक्षीय काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार त्रियुगा नगरपालिका ११ गाईघाटमा निर्मित बिपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै कोईरालाले सरकारले सय दिनको अवधिमा कुनै उत्साह जनाउन नसकेको बताए । 


प्रतिनिधिसभा सदस्यसमेत रहेका कोईरालाले देशका दुई ठुला पार्टी काग्रेस र एमाले मिलेर बनेको सरकार शासन गर्न नभएर जनताको पक्षमा काम गर्न गएको हुनाले राम्रा काम गर्नुपर्नेमा जोड दिए । दुईतिहाई बहुमतको सरकारले जनतामा  उत्साह भर्ने र आशा, भरोसा जगाउने खालका काम गर्न उनको आग्रह थियो ।

 
दुई ठुला पार्टीको सरकारले पनि जनतामा आशा जगाउन नसके देश ठुलो दुर्घटनामा जान सक्ने चिन्ता उनलाई थियो । सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीले भनेको ‘आफु भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने कुरा गलत प्रमाणित भएको बताए ।


सत्ता गठबन्धन गर्नेबेला संविधान संशोधनलगायत ७ बुदेँ साझा कार्यक्रम बनाएको स्मरण गराउँदै उनले त्यो कार्यक्रम कति कार्यान्वयन भयो भएन भन्ने कुराको लेखाजोखा गर्ने बेला भएको बताए । उनले संविधान संशोधनजस्तो कुरा सबै राजनीतिक दलहरुसँग छलफल गरेर मात्र संभव हुने बताए । 


कोईरालाले आफुलाई बिपक्षीभन्दा पनि आफ्नै पार्टीदेखि डर लागेको बताए । सँस्थापन इतर नेताको परिचय बनाईसकेका नेता कोईरालाले आफु समर्थकहरुलाई ढाडस दिदै निराश र हतास नभई उत्साहपूर्वक अघि बढ्न आग्रह गरे । पार्टीको १५ औँ महाधिवेशन आउन १ वर्ष बाँकी रहेको भन्दै तोकिएकै अवधिमा महाधिवेशन गर्न सबै कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने पनि बताए । 


‘तपाँईहरु निराश हुनुपर्दैन, म न्याय दिन सक्छु, मलाई साथ दिनुहोस्’ नेता कोईरालाले समर्थकलाई ढाडस दिदै भने ‘पार्टी नेतृत्वले गरेको गलत रबैयाको खुलेर स्वस्थ्य आलोचना गर्न पछि पर्नुहुन्न, म तपाँईहरुसँग छ, हतास र निराश हुनुपर्दैन ।’ चौधौँ महाधिवेशनमा सभापतिका पराजित उम्मेदवार कोईरालाले घुमाउरो तर, प्रष्ट रुपमा आगामी महाधिवेशनमा सभापतिको दावेदारी प्रस्तुत गरे । 


कार्यक्रममा नेताहरु राजिव कोईराला, गुरुराज घिमिरे, केदार कार्की र स्थानीय नेताहरु काँग्रेस जिल्ला उपसभापति भिमचन्द्र राई, प्रदेशसभा सदस्य लिला राई, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापतिहरु खगेन्द्र राई र रामकुमार खत्री, प्रदेश सभापति सरोज बस्नेतलगायत नेताहरुले बिपीको विचार र संगठन सुदृढीकरणबारे मन्तव्य राखेका थिए । 


मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ११ गाईघाट बिपी चोकमा निर्मित शालिक त्रियुगा नगरपालिकाले निर्माण गरेको हो । फाईबरबाट निर्मित अद्र्धकदको शालिक बनाउन नगरपालिकाले २ लाख ७५ हजार खर्च गरेको त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले बताए । मेयर बस्नेतका अनुसार सो ठाउँलाई ०४७ सालमै तत्कालीन काँग्रेस सभापति गिरीजाप्रसाद कोईरालाले बिपी चोक नामाकरण गरेका थिए ।