६ दिन अघि
२0८१ कार्तिक २३ शुक्रबारगाईघाट, कात्तिक २३
त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्ष पदका लागि आउँदो मंसिर १६ गते हुन गईरहेको उपनिर्वाचनका लागि नेकपा (माओबादी केन्द्र) उदयपुरले तहतहमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टीले चुनाव हुनु १ महिनाअघि नै प्रदेश कमिटी सदस्य द्रोण पौडेल (निरज)को संयोजकत्वमा २७ सदस्यीय चुनाव परिचालन मूल कमिटी गठन गरेको थियो । केहीदिनअघि पार्टी त्रियुगा नगर कमिटी उपाध्यक्ष नरबहादुर कार्कीको संयोजकत्वमा ४५ सदस्यीय नगरस्तरीय चुनाव परिचालन कमिटी पनि गठन गरेको छ ।
पार्टीले चुनावलक्षित बैठक, भेला र छलफल अन्तरक्रिया नियमित रुपमा गरिरहेको नगर कमिटी इन्चार्ज बिमल किरातीले बताए । इन्चार्ज किरातीका अनुसार मूल कमिटी र नगरस्तरीय चुनाव परिचालन कमिटी गठन गरिसकेको पार्टीले अव वडा र टोलस्तरीय कमिटीसमेत गठन गरेर चुनावलक्षित गतिबिधि गर्ने तयारी गरेको छ ।
आसन्न चुनावलाई लक्षित गर्दै पार्टीले शुक्रबार जिल्लास्तरीय छलफल सम्पन्न गरेको छ । पार्टी कार्यालय त्रियुगा बसपार्कमा आयोजित बैठक बैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक) र जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवाल (दिवस)को उपस्थितिमा भएको हो ।
बैठकले त्रियुगा १२ र बेलका ९ को उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी चुनाव प्रचारप्रसारमा लाग्ने निर्णय गरेको नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार दुवै वडामा पार्टीले निर्विबाद रुपमा सक्षम र सक्रिय उम्मेदवारको तय गरिसकेको हुनाले शान्तिपूर्ण र स्वस्थ्य प्रतिस्पर्धा गर्नेगरी चुनाव लक्षित गतिबिधिमा लाग्न बैठकले नेता कार्यकर्तालाई निर्देश गरेको छ ।
त्रियुगा १२ मा माओबादीले नवीनकुमार राईलाई वडाध्यक्षको उम्मेदवार बनाउने गरी माथिल्लो कमिटीमा सिफारिस गरेको छ भने बेलका ९ मा भरत घिमिरेलाई उठाउने निश्चय गरेको छ । राई ०७९ को स्थानीयतह निर्वाचनमा झिनो मतले वडाध्यक्ष पराजित हुन् भने घिमिरे पार्टीनिकट विद्यार्थी राजनीति हुँदै पार्टीको बेलका नगर कमिटी सचिव हुन् ।
०७९ को निर्वाचन जितेका वडाध्यक्षहरु त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदमबहादुर खड्काको सवारी दुर्घटनामा निधन भएपछि रिक्त हुन गएको पदमा उपनिर्वाचन हुन लागेको हो । काफ्लेको चुनाव जितेकै साल फागुनमा शिवरात्रिका दिन स्कुटर दुर्घटनामा परी निधन भएको थियो भने खड्काको गत जेठमा बेलकादेखि इटहरी जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी निधन भएको निर्वाचन कार्यालयले जनाएको छ ।