छठ पुजाले त्रियुगा दुलही झैँ झकिझकाउ 

२ हप्ता अघि

२0८१ कार्तिक २२ बिहीबार
छठ पुजाले त्रियुगा दुलही झैँ झकिझकाउ 

उदयपुर, कात्तिक २२


यसवर्षको छठ त्रियुगा नदी किनारमा धुमधामसँग चलिरहेको छ । गाईघाटस्थित त्रियुगा नदी किनार सातादिन अघिदेखि नै सिङ्गाएर दुलही झैँ बनाइएको छ ।

 

त्रियुगासँगै आसपासका बरुवा, लुहाले, ठाडी, सरस्वति, शाही, कङ, द्वार खोलाका किनारहरु पनि छठ मान्न झकिझकाउ बनाइएको छ । त्रियुगा नदीको दायाँ बायाँ ६ सय मिटर लामो दूरीमा घाट निर्माण गरिएको छठ पुजा समितिका अध्यक्ष चन्दन साहले बताए ।

 

यसवर्ष त्रियुगा घाटमा ५ सय बढी भक्तजन र १० हजार बढी तीर्थालु सहभागी हुने अनुमान गरिएको साहले बताए । ३ दिन मनाइने छठको मुख्य दिन बिहीबार (आज) व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर उपवास बस्दै रातभर जाग्राम बसेका छन् । 


छठको मुख्य दिन बिहीबार परेकाले अघ्र्य दिएर रातभर जाग्राम बस्ने भक्तजनहरु शुक्रबार विहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएसँगै छठ समाप्त हुने साहले बताए । भक्तजनले छठी मातालाई उखुको लाक्रा, ठेकुवा, केराको घरी, नरिवललगायत विभिन्न ७० प्रकारका सामग्री राखेर ब्रत बस्ने गरेका छन् । 


विहीबार साँझ स्नान गरेर पुजा गर्दै रातभर जाग्राम बस्ने ब्रतालुहरु विहान उठेर नुहाई दुहाई गरी मन र शरिर दुवै चोखो बनाएर उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मनोकामना पुरा हुने विश्वास रहेको साह बताउँछन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएपपछि पुजाको विधिवत समापन गर्ने काम पनि समितिले गर्ने अर्का समितिका सदस्य रितेश महतोले बताए । 


छठको पहिलो दिन स्नान गरी एक छाक मात्र खाएर ब्रत बस्ने चलन छ भने दोस्रो दिन सखर हालेर बनाएको खीर (खरना) छठी मातालाई चढाएर त्यही प्रसाद खाने र नुन नखाई एक छाक फलाहार खाने चलन छ । मुख्य दिन भने पुरै उपवास बसेर कठोर ब्रत बस्ने तथा बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी भक्तजनले अघ्र्य चढाउने गर्छन् । 


सूर्यको आराधना गरी मनाइने छठ पर्व खोला किनारदेखि तलाउ, पोखरीजस्ता जलासयमा पनि घाट बनाएर मनाउने गरिन्छ । पहिला पुरुष, बृद्धबृद्धादेखि युवा युवति हुँदै बालबालिकासमेत घाटमा  जम्मा भएर छठ मनाउने प्रचलन विकसित हुदै गएको छ । 


पहिले पहिले मधेसी समुदायले मात्र मनाउने गरेको यो चाड पछिल्लो दशकयता सबै जाति समुदाय र भूगोलबासीले मनाउन थालेका छन् । दशकअघि गाईघाटमा औँलामा गन्ने सङ्ख्याले मनाउने गरेको छठमा अहिले छिचोल्न नसक्ने गरी भीड लाग्ने गरेको स्थानीय भिम राई बताउँछन् ।


गएको ०६५–७० सालतिर सामान्य मनाइने छठ पछिल्लो समय धुमधामसँग मनाउन थालिएको हो । त्यसबेला १५–२० वटा घाट बनाएर ४०–५० जना भक्तजनले पुजा  गरेकोमा अहिले घाट ३–४ सय घाट बनाएर हजार भक्तजनले पुजा गर्ने गरेका छन् । एक दशकयता अचाक्ली भक्तजन बढेको गाईघाटमै जन्मे हुर्केकाहरुको अनुभव छ ।


पछिल्लो समय सवै जातजाति र समुदायले मनाउन थालेकाले छठले हिजोआज  बहुधार्मिकब, बहुसांस्कृतिक र साझा पर्वको रुप लिदै गएको पाइएको छ । पुजा समितिले यो वर्ष छठमा त्रियुगामा १० हजार बढी भक्तजन र तिर्थालु भेला हुने अनुमान गरेको छ । 


त्यसैगरी बेलका, चौदण्डीगढी र कटारी नगरका खोला किनारहरु रनि छठ पुजाका लागि सिङ्गारिएका छन् ।